![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/birodh-4_20211024104438-2-1024x482.jpg)
बर्दिबास । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त आयोजना प्रमुख राजेश कुशवाहा माथि भएको कुटपिट तथा दुर्व्यवहारको विरोध गर्दै महोत्तरीको बर्दिबासमा राष्ट्र सेवक निजामती कर्मचारीले विरोध प्रदर्शन गरेका छन् ।
आफू कार्यरत कार्यालयको कामकाज एक घण्टा अवरुद्ध गर्दै हातमा कालो पट्टी बाँधेर सडकमा उत्रिएका कर्मचारीहरूले ब्यानर तथा प्लेकार्ड सहित नगरको विभिन्न भागमा परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । उनीहरूले इन्जिनियर कुशवाहामाथि अभद्र व्यवहार गर्न आदेश दिने सिके राउत तथा उनका कार्यकर्ताहरू माथि कडाभन्दा कडा कारबाहीको इलाका प्रशासन कार्यालय बर्दिबास मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् ।
र्यालीमा ’राष्ट्रसेवक कर्मचारीमाथि आक्रमण बन्द गर, जनकपुर घटनाका दोषीलाई कारबाही गर’, ’राष्ट्रसेवक कर्मचारीको मानव अधिकार सुनिश्चित गर, कथित जनतामारा जनमत पार्टीलाई प्रतिबन्ध गर’, ’जनताको करले बनाएको कार्यालय तिमीले जलायौं–तिमीजस्ता देशद्रोही नेताले कर्मचारी विद्रोही बनायौँ’ जस्ता नारा उल्लेखित प्लेकार्ड बोकेर जनमत पार्टीविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरूले बर्दिबासको विभिन्न भागमा परिक्रमा गरेका थिए ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/birodh-6_20211024104438-1-1024x559.jpg)
कर्मचारीहरूले आफूहरूको सुरक्षाका लागि विशेष योजनाको तयारी गर्न सरकारसँग माग गरेका छन् । घटना निक्कै पीडादायक भएको र कार्यालयमा बसेर ढुक्कसँग काम गर्ने वातावरण समेत नरहेको भन्दै दोषी माथि हदैसम्मको कारबाही गरिनु पर्नै माग समेत राखेका छन् ।
गएको बिहीबार जनमत पार्टीका नेता कार्यकर्ताले सङ्घीय खानेपानी तथा ढल निकास आयोजनाका निमित्त प्रमुख कुहवाहालाई कार्यालयबाट निकालेर कुटपिट गर्दै अर्धनग्न पारेर नालाको हिलो दली नगर परिक्रमा गराएका थिए । त्यस घटनाको अहिले चौतर्फी आलोचना भइरहेको छ ।
https://ift.tt/3CbR5m4
प्रतिक्रिया लेख्नुहोस्