वीरगंज । राष्ट्रिय जनगणना, २०७८ को लागि पर्सा जिल्लामा आजबाट ५ सय ५६ जना गणक खटाइएको छ ।
“मेरो गणना मेरो सहभागिता” भन्ने मूल नाराका साथ सुरु आजबाट शुरु भएको जनगणना आगामी मङ्सिर १० गतेसम्म हुने जिल्ला जनगणना कार्यालय पर्साले जनाएको छ ।
पर्सामा यसअघि १ सय ४२ जना सुपरिवेक्षकले सूचीकरण गरेको १ लाख १८ हजार ५ सय १५ घरधुरीमध्ये ९३ हजार १ सय ४० घरमा मानिस बस्ने भएको र ती घरका १ लाख ६ सय २१ परिवारको गणना हुने पर्साका जनगणना अधिकारी केशव ज्ञवालीले जानकारी दिनुभयो ।
जनगणना कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पर्सा जिल्लाका १४ स्थानीय तहमा ६ वटा जनगणना कार्यालयको स्थापना गरिएको छ ।
वीरगंज महानगरपालिकामा जिल्ला जनगणना कार्यालय पर्सा र परवानीपुरमा कार्यालय स्थापना गरिएको छ भने पर्साको पर्सागढी नगरपालिकामा रहेको कार्यालयले सखुवाप्रसौनी गाउँपालिकालाई समेत हेर्ने जनाइएको छ । त्यसैगरी जिराभवानी गाउँपालिकाको सेढवामा स्थापना गरिएको कार्यालयले ठोरी, जगरनाथपुर, पटेर्वासुगौली र जिराभवानीलाई हेर्ने छ भने कालिकामाईको मुडलीमा स्थापना गरिएको कार्यालयले पकाहामैनपुर, छिपहरमाई, धोबिनी गाउँपालिकालाई हेर्ने जिल्ला जनगणना कार्यालय पर्साका कर्मचारी अमृत खड्काले बताउनुभयो ।
जनगणनाको पहिलो चरणमा सुपरिवेक्षकले घर सङ्ख्या, परिवार सङ्ख्या, कृषि विवरण, आर्थिक गतिविधि, बैङ्क खाता आदिका बारेमा सामान्य विवरण सङ्कलन गरी घरको सूचीकरण गरिसकेको र सूचीकरण पश्चात् दोस्रो चरणमा आजबाट गणकले जाति, धर्म, संस्कृति, शैक्षिक विवरण, आर्थिक गतिविधि, मृत्युसँग सम्बन्धित विवरण जस्ता विवरण सङ्कलन शुरु गरिएको जिल्ला जनगणना कार्यालय पर्साका प्रमुख केशव ज्ञवालीले जानकारी दिनुभयो ।
https://ift.tt/3C77xmw
प्रतिक्रिया लेख्नुहोस्