जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सत्य र न्यायको पक्षमा काम गर्नका लागि नेकपा एकीकृत समाजवादी पार्टी गठन भई पार्टी त्यसतर्फ अगाडी बढेको बताउनुभएको छ ।
अध्यक्ष नेपालले पार्टीको प्रदेश तथा धनुषा जिल्ला कार्यालयको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मुलुकको वास्तविक कम्युनिष्ट पार्टी नेकपा एकीकृत समाजवादी नै भएकाले उच्च मनोबलका साथ देश र जनताको पक्षमा काम गर्न सबै तहका नेता, कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
उहाँले पार्टीको सङ्गठन विस्तारमा काम गर्ने नेता तथा कार्यकर्ताहरूको पार्टीमा पूर्ण सम्मान हुने बताउँदै अहिले पार्टी केन्द्रदेखि प्रदेशसम्म सरकारमा रहेकाले सरकारमा सामेल भएकाहरूलाई देश, जनता तथा कार्यकर्ताको मनोबल बढाउने काममा ध्यान दिन नेताहरूलाई निर्देशन दिनुभयो ।
नेपालको नागरिक भएका आमा बुबाको कुनै पनि सन्तान नेपाली नागरिकता पाउनबाट वञ्चित हुन नहुने बताउँदै उहाँले सरकारले नागरिकता सम्बन्धी विधेयक उच्च प्राथमिकतामा राखेर छलफल गरेर चाँडै पारित गरेर समस्याको समाधान गर्ने बताउनुभयो ।
उहाँले नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा सञ्चालनका लागि बाँकी रहेका कामकाज पुरा गर्नका लागि आग्रह गर्दै यस भेगका जनताको आर्थिक, सामाजिक विकासका लागि रेल जति सक्दो चाँडो सञ्चालन गराउने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले रेल सञ्चालनका लागि गर्नुपर्ने तयारी विगतमा नभएका कारणले रेलको इन्जिन तथा बोगी खरिद भएर आए पनि सञ्चालन नभएको बताउँदै अब सरकार जति सक्दो चाँडो रेल सञ्चालन गरिछाड्ने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नंं २ का इन्चार्ज धर्मनाथ साह, सचिवालय सदस्य रामचन्द्र झा, प्रदेश नंं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य शत्रु धन महतो सहितका नेताहरू रहेको थियो ।
https://ift.tt/3DNTPHd
प्रतिक्रिया लेख्नुहोस्