जनकपुरधाम । प्राकृतिक वातावरणलाई सन्तुलन राख्नका लागि प्राकृतिक माछाहरूको संरक्षणमा जनकपुरधाममा आज आयोजना गरिइएको कार्यक्रममा मत्स्य विज्ञहरूले जोड दिनु भएको छ ।
“जलचर संरक्षण हाम्रो प्रतिबद्धता, खाद्य पोषण दिगो विकासको सुनिश्चितता” मूल नारा विश्व मत्स्य दिवस २०७८ को उपलक्ष्यमा मत्स्य मानव संसाधन विकास तथा प्राविधिक परीक्षण केन्द्रले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी माछा विज्ञहरूले कतिपय प्रजातिका प्राकृतिक माछा लोप हुँदै जानु निक्कै चिन्ताको विषय भएको बताउनुभयो ।
उहाँहरूले माछाको अनुबंशीय गुणहरूको संरक्षणका लागि जलचर जीव जन्तुको संरक्षण आवश्यक भएको बताउँदै पानीको श्रोतहरू सुकाएर घर घडेरी सहितका अन्य पूर्वाधारको निर्माण गर्दै जानुले प्राकृतिक माछाहरू लोक हुन थालेको बताउँदै यसको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना समन्वय इकाई धनुषाका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत तथा मत्स्य विज्ञ युगल किशोर तिवारीले विश्वमा सन् २०१५ साल देखि र नेपालमा पाँच वर्ष देखि विश्व मत्स्य दिवस विभिन्न कार्यक्रम सहित मनाउने काम भइरहेको बताउनुभयो ।
उहाँले माछा मार्नका लागि खेत, खाल्डो, पोखरी एवं तलाउमा विष हाल्ने काम हुनु गलत भएको बताउँदै लोपोन्मुख जातको माछाको संरक्षणका लागि विशेष अभियान नै चलाउन जरुरी रहेको छ । लोप हुने जातको माछा मारेको खण्डमा कानुनी कारबाही हुने प्रावधान कानुनमा भए पनि यसको कार्यान्वयन नभएको उहाँले बताउनुभयो ।
प्रदेश नंं २ को पशुपक्षी तथा मत्स्य निर्देशनालयले निर्देशक डा. जागेश्वर यादवले स्थानीय प्रजातिको माछाको उत्पादन तथा बजारीकरणमा विशेष जोड दिँदै प्रकृतिलाई सन्तुलनमा राख्नका लागि जलचर प्राणीहरूको संरक्षण जरुरी रहेको बताउनुभयो ।
मत्स्य संशोधन विकास तथा प्रविधि परीक्षण केन्द्र जनकपुरधामका प्रमुख रविलाल शर्माले लोपोन्मुख जातिको माछाको संरक्षण एवं प्रवर्द्धन आवश्यक भएको बताउँदै माछा मार्नका लागि पानीको श्रोतमा विष हाल्ने कामले सबै जलचर प्राणीको मृत्यु हुने भएकाले यस तर्फ सबै पक्ष सचेत रहन जरुरी रहेको बताउनुभयो ।
नेपालकै वरिष्ठ मत्स्य व्यवसायी बौएलाल मुखियाको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागी भएका अन्य विज्ञहरूले माछा दिवसमा माछाको उत्पादन, बजारीकरण तथा लोपोन्मुख माछाको संरक्षणका लागि प्रण गर्न आवश्यक भएको बताउनुभयो ।
यसै उपलक्ष्यमा धनुषा तथा सीरहाको सीमा भएर बग्ने कमला नदीमा माछाको भुरा छाडने काम सम्पन्न भएको छ भने बिहान जनकपुरधाममा प्रभात फेरि कार्यक्रम भएको छ ।
सहभागीहरूले माछाको महत्त्व झल्किने प्लेकार्ड, ब्यानर सहित माछाको महत्त्व दर्शाउने नारा लगाएर जनकपुरधामको बजारभरि परिक्रमा गरेका थिए । र्यालीमा कर्मचारी, मत्स्य व्यवसायी तथा किसानहरू सहभागी रहनु भएको थियो ।
https://ift.tt/3CXjLyN
प्रतिक्रिया लेख्नुहोस्