जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरेको दोहनका कारणले वर्षेनी रुपमा कृषि योग्य भूमिलाई मरुभूमिकरण बनाउने तथा बाढी आएर कृषि क्षेत्रमा ठूलो क्षति गर्ने भएकाले चुरेको दोहन नियन्त्रणका लागि सबै मिलेर कामकाज गर्न आवश्यक भएको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको आर्थिक लगानीमा निर्माण भएको रङ्गशालाको मटिहानीमा आज उद्घाटन गर्नु हुँदै सो कुरा बताउनु भएको हो ।
राष्ट्रपति भण्डारीले जनताको विकासको तीव्र आकाङ्क्षा पुरा गर्नका लागि जनप्रतिनिधिहरू सक्रियता पूर्वक लागेकोमा खुशी व्यक्त गर्नु भएको छ ।
उहाँले खेल जगत मानव समाजको अभिन्न अङ्ग भएको बताउँदै खेलले युवा वर्गलाई सुमार्गमा डोर्याउनमा ठूलो योगदान गर्ने बताउँदै मटिहानी नगरपालिकाले रङ्गशालाको निर्माण गरेर युवा तथा जनताको आकाङ्क्षाको सम्बोधन गर्ने काम गरेको बताउनुभयो ।
उहाँले खेलकुदको विकासका आकाङ्क्षा पुरा गर्नका लागि ठूलो मद्दत पुग्ने विश्वास गर्दै मटिहानी नगरपालिकाले गरेको कामको सराहना पनि गर्नुभयो ।
उहाँले जनकको ज्ञानले सिञ्चित रहेको यस भूमिमा अष्टाबक्र, गाग्री, मैत्री जस्ता ऋषि मुनिहरूको तपोभूमि रहेको बताउँदै यसको विकासका लागि सबै तहका सरकारहरू गम्भीर हुन जरुरी रहेको बताउनुभयो ।
प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले महिला सहभागिता विना प्रदेशको विकास सम्भव नभएकाले नै बेटी पढाऊँ बेटी बचाउ, छोरी शिक्षा बिमा जस्ता कार्यक्रमहरू गरेको बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कृषिको आधार भूमिको रुपमा रहेको प्रदेशको समृद्धि र विकासका लागि सिँचाइ, कृषिमा यान्त्रिकीकरणमा जोड दिन जरुरी रहेको बताउनुभयो ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा भएको रङ्गशाला उद्घाटन कार्यक्रममा रङ्गशालाको निर्माणमा योगदान दिनु भएको इन्जिनियर विमलेश साह, विनोद मण्डल र नरेश महतोलाई राष्ट्रपतिले कदर पत्र प्रदान गरेर सम्मानित गर्नु भएको छ ।
१ करोड ३० लाखको लागतमा १ विघा ९ कट्ठामा रङ्गशाला निर्माण भएको छ । आजै राष्ट्रपति भण्डारी मटिहानीको लक्ष्मीनारायण मठमा पुगी पूजा अर्चना गर्नुका साथै ३ सय वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गर्नु भएको थियो । लक्ष्मीनारायण मठमा जाँदा मानमहन्थ जगन्नाथ दासले स्वागत गर्नु भएको थियो भने विद्यालयमा जाँदा प्राचार्य ईश्वरी पौडेलले स्वागत गर्दै राष्ट्रपति भण्डारी जानकारी गराउनु भएको थियो ।
https://ift.tt/3oMYi6B
प्रतिक्रिया लेख्नुहोस्