
जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले नेपाली जनताको आफ्नै देशको ब्रोडगेज रेल चढ्ने चाहना चाडै पुरा गरिने बताउनु भएको छ ।
मन्त्री यादवले जनकपुर–जयनगर रेल्वेको भौतिक अवस्थाको आज जनकपुरधाम रेल्वे स्टेसन तथा कार्यालयको निरीक्षण गर्दै रेल्वे सम्बन्धी अध्यादेश एक साताभित्र मन्त्री परिषद्वाट पारित गरेर अन्य व्यवस्थापन मिलाएर जति सक्दो चाँडो रेल चढ्ने जनताको चाहना पुरा गर्नका लागि सरकार लागि परेको बताउनुभयो ।
उहाँले जनकपुर जयनगर रेल सञ्चालनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मा सबै प्रकारको सहयोग गर्नका लागि तयार रहनु भएकाले रेलको उद्घाटन नेपाल भारतका प्रधानमन्त्रीले कोभिडका कारणले प्रत्यक्ष नभए पनि भर्चुअल माध्यमले भए पनि गर्नु हुने बताउनुभयो ।
उहाँले रेल सञ्चालनका लागि अध्यादेश मार्फत कानून बनेपछि कर्मचारीहरूका लागि १५ दिनको प्रशिक्षण तथा सामान्य मरम्मत एवं थन्केर बसेको रेल्वेको प्राविधिक परीक्षण पछि सञ्चालन गर्नमा कुनै समस्या नभएको बताउनुभयो ।
यातायात मन्त्री यादवले यसै रेलको विस्तार गरेर निजगढसम्म बनाई निकट भविष्यमा नै तराई मधेशलाई राजधानी काठमाडौँलाई रेलमार्ग सँग जोड्ने पक्षमा नेपाल सरकार रहेको र सो विषयमा कामकाज भइरहेको बताउनुभयो ।
उहाँले विवाह पञ्चमीमा रेल सञ्चालन गर्ने अवस्था नभए पनि चाडै सञ्चालन गर्ने पक्षमा सरकार लागि परेको बताउनुभयो ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भारत सरकारको १२ अर्ब ५३ करोड नेपाली रुपैयाँमा अहिलेको पूर्वाधारको निर्माण भएको बताउँदै रेल सञ्चालनका लागि कानून, कर्मचारीको व्यवस्थापन तथा भाडा दर तोकेपछि रेल सञ्चालन गरिने बताउनुभयो ।
उहाँले करिब ८ महिना देखि रेलको इन्जिनहरू पूर्ण रूपमा थन्किएर बसेकाले यसको पुनः प्राविधिक परीक्षण पछि सञ्चालन गर्न मिल्ने बताउनुभयो । निरीक्षणमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ सहितका व्यक्तिहरू उपस्थित रहनु भएको थियो ।
अहिले भारतको जयनगर देखि जनकपुरधामको कुर्थासम्म ब्रोडगेज रेल सञ्चालनका लागि सबै पूर्वाधारको निर्माण भइसकेको छ भने दुई सेट रेख खरिद गरेर जनकपुरधाम ल्याएको करिब १४ महिना भएको छ ।
https://ift.tt/3d13b6v
प्रतिक्रिया लेख्नुहोस्