सर्लाही । प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।
सवारी दुर्घटना न्यूनीकरण तथा गैर कानुनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्न लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार छठ पर्व सकिए लगत्तै सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको विवरण सङ्कलन गरी त्यस्ता सवारी साधन कहाँ र कसले सञ्चालन गरिरहेको छ सो को विवरण सङ्कलन गर्ने काम हुनेछ ।
यसैगरी, उक्त कार्यालयले जिल्लालाई घुमुवा प्रहरीरहित जिल्ला पनि बनाएको छ ।
घुमुवा प्रहरीले जिम्मेवारी अनुसारको काम नगरेर सङ्गठनकै बदनाम गर्न थालेकाले आपराधिक गतिविधि र अन्य घटनाको सूचना सङ्कलनका लागि परिचालित यस्ता घुमुवा प्रहरी हटाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनौपचारिक पोसाकमा कार्यरत प्रहरीले आचरण विपरीत काम गर्दै सङ्गठनकै बदनाम गराउन थालेकाले हटाइएको हो ।
“जिल्लाबाट मातहतका युनिटमा खटाइएका चार यस्ता प्रहरीले सूचना दिनेभन्दा बढी बदनाम गर्ने काम गरे, म आएपछि उनीहरूलाई हटाइसकेको छु”। उहाँले भन्नुभयो,“अब कुनै घटना भए घटनाको प्रकृतिअनुसार जिल्ला र मातहतका युनिटबाटै विशेष प्रहरी टोली परिचालन हुनेछ ।”
स्थानीयवासी, तालुक कार्यालय, सञ्चारकर्मीलगायतबाटै सूचना लिएर शान्ति सुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रणका लागि काम गर्ने योजना बनाइएको उपरीक्षक प्रसाईँले बताउनुभयो ।
उहाँकाअनुसार यसअघि अनौपचारिक रूपमा खटाइएका प्रहरीलाई पोसाक लगाएरै नियमित डिउटीमा लगाइसकिएको छ ।
प्रहरी उपरीक्षक प्रसाईँ जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भए लगत्तैदेखि जिल्लामा रहेका घुमुवा प्रहरी हटाउने तयारीमा रहनुभएको थियो । उहाँले प्रहरी सङ्गठनभित्रका कमी कमजोरीलाई सुधार गर्दै आम नागरिकले न्याय र शान्ति सुरक्षाको महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसअघि, प्रहरी नायब उपरीक्षक हुँदा पनि सर्लाहीमा एक कार्यकाल बसिसक्नु भएका प्रहरी उपरीक्षक प्रसाईँबाट सर्लाहीवासीले शान्ति, सुरक्षा र अमन चयनको अपेक्षा गरेका छन् ।
सिमानाकाका पोष्ट कमाउनका लागि मात्र होइन सेवा पनि गर्नुपर्छ भन्ने मनसाय बनाउन पनि उहाँले आफ्नो मातहतका प्रहरी कर्मचारीलाई आग्रह गर्नुभएको छ । रासस
https://ift.tt/eA8V8J
प्रतिक्रिया लेख्नुहोस्