वीरगञ्ज । पर्सामा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा विकास बजेट न्यून रुपमा खर्च भएको छ । स्थानीय तह तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न सरकारी कार्यालयहरूले चालु आर्थिक वर्ष ०७८÷७९ को प्रथम चौमासिकमा विकास बजेट न्यून खर्च गरेका छन् । यसले आर्थिक वर्षको अन्त्यमा हतारोमा बजेट खर्च गर्ने प्रवृत्ति यस पटक पनि दोहोरिने सङ्केत देखिएको छ ।
सङ्घीय सरकारअन्तर्गतका कार्यालयहरूले गत साउन १ देखि कात्तिक मसान्तसम्ममा कुल वार्षिक बजेटको १२.५४ प्रतिशत मात्र विकास निर्माणमा खर्च गरेको छ । त्यसै गरी प्रदेश सरकारअन्तर्गतका कार्यालयको विकास बजेट खर्चको अवस्था झन् नाजुक रहेको छ ।
ती कार्यालयहरूले जम्मा १ दशमलव ४५ प्रतिशत बजेट मात्रै ४ महिनामा खर्च गरेको भेटिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगन्जको तथ्यांकअनुसार सङ्घीय कार्यालयहरूले ४ महिनाको अवधिमा ३ अर्ब ९१ करोड ९५ लाख १० हजार रुपैयाँ विकास बजेटमध्ये ४९ करोड १६ लाख ८८ हजार २ सय ५५ रुपैयाँ ६८ पैसा मात्र खर्च गर्न सकेका छन् ।
वीरगन्ज–पथलैया सडक योजना कार्यालय, पथलैया र हुलाकी राजमार्ग योजना कार्यालय, वीरगन्जबाहेक अन्य कार्यालयले उल्लेख्य विकास बजेट प्रयोग गर्न नसकेको भेटिएको छ । वीरगन्ज–पथलैया सडक योजनाले कुल वार्षिक विकास बजेट ४४ करोड १२ लाख रुपैयाँमध्ये १० करोड ९२ लाख १६ हजार ३ सय ९८ रुपैयाँ खर्च गरेको छ ।
हुलाकी राजमार्ग योजना कार्यालयले ४० करोड रुपैयाँ वार्षिक बजेट पाएकोमा हालसम्म ७ करोड ३६ लाख ३५ हजार १ सय ८१ रुपैयाँ खर्च गरेको छ ।
त्यसै गरी सघन सहरी तथा भवन निर्माण आयोजना, वीरगन्जले चालु आर्थिक वर्षको लागि २ अर्ब ९ करोड ५६ लाख ८० हजार रुपैयाँ पाएको मा २६ करोड ४८ लाख ९५ हजार ३ सय ६६ रुपैयाँ मात्र पछिल्लो ४ महिनामा खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
यता प्रदेश सरकार मातहतका कार्यालयहरूले झनै विकास बजेट खर्च गर्न नसकेको तथ्याङ्कले देखाएको छ । प्रदेश सरकार मातहत पर्सा जिल्लामा १५ सरकारी कार्यालय रहेका छन् । जसको वार्षिक विकास बजेट १ अर्ब ८३ करोड १६ लाख ५९ हजार रुपैयाँ रहेको छ । प्रथम चौमासिक अवधिमा उनीहरूले जम्मा २ करोड ६६ लाख ७ हजार २ सय २९ रुपैयाँ मात्र खर्च गर्न सकेका छन् ।
जुन कुल बजेटको जुन १ दशमलव४५ प्रतिशत मात्रै रहेको जनाइएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका सूचना अधिकृत विष्णुप्रसाद सुवेदीले सङ्घीय कार्यालयअन्तर्गत विकास निर्माणका कामको टेन्डर नलागेर प्रथम चौमासिकमा विकास बजेट खर्च हुन नसकेको बताउनुभयो ।
https://ift.tt/eA8V8J
प्रतिक्रिया लेख्नुहोस्