जनकपुरधाम । प्रदेश नंं २ सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकले कृषि विश्वविद्यालयका लागि ३१ करोड अनुदान प्रदान गर्न अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गर्ने निर्णय गरेको छ ।
कृषि विश्वविद्यालयका लागि प्रदान गर्ने निर्णय कार्यान्वयनका लागि विश्वविद्यालयको कार्यविधि, बोर्ड तथा पदाधिकारीहरूको नियुक्तिपछि मात्र हुने अवस्था रहेको अर्थमन्त्री समेत रहनुभएका प्रदेश २ सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।
प्रदेश नंं २ का सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो भने विश्वविद्यालयका उपकुलपतिमा डा.वैद्यनाथ महतोलाई नियुक्त गरेको थियो ।
यसैगरी, मन्त्रिपरिषद्को बैठकले प्रत्येक जिल्लामा रहेको जिल्ला अस्पतालहरूको स्तर वृद्धि गरी प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्ता साहले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले बेटी पढाऊँ, बेटी बचाऊँ कार्यक्रम अन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गर्दै आएको सो कार्यक्रम सामाजिक विकास मन्त्रालय मातहत सञ्चालन गर्ने यसअघिको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने भएको छ ।
अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालन भएको बेटी पढाऊँ तथा बेटी बचाऊँ कार्यक्रम बन्द अवस्थामा रहेको छ ।
https://ift.tt/3sbpCP1
प्रतिक्रिया लेख्नुहोस्