बीरगंज । अङ्ग्रेजी नयाँ बर्ष सन् २०२२ को आगमनसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्जले आफ्ना संरचनाहरू आकर्षक, मनमोहक र पर्यटनमैत्री बनाउने अभियान जुटेको छ ।
राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमै आगन्तुकहरूका लागि सूचना केन्द्र, प्रतीक्षालय, व्यवस्थित पार्किङ, शौचालय, रानीपोखरी, मचान, आन्तरिक सडक पूर्वाधार दुरुस्त राख्न धमाधम काम भइरहेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जमा छिमेकी चितवन निकुञ्ज सरह सबै खाले दुर्लभ वन्यजन्तु र चराचुरुङ्गी देख्न पाइने भए पनि स्वदेशी तथा विदेशी पर्यटक पर्सा राष्ट्रिय निकुञ्जमा आकर्षित हुन सकेका छैनन् ।
संरक्षणलाई केन्द्र विन्दुमा राखेर आफूहरूले निकुञ्जको सौन्दर्यीकरणमा जोड दिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्गको अमलेखगञ्ज—पथलैया—तामागढी सडक खण्डको करिब १ हजार वर्ग किलोमिटरमा पर्सा राष्ट्रिय निकुञ्ज फैलिएको छ ।
निकुञ्जभित्र जङ्गल सफारी, हात्ती सफारीको व्यवस्था छ। प्रचारप्रसारको अभाव र पर्यटनमैत्री संरचना नहुँदा निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अत्यन्तै न्यून रहेको छ । स्थापना भएको ४ दशकपछि निकुञ्जले पहिलो पटक आफ्ना संरचना पर्यटनमैत्री बनाउन लागेको हो ।
तेस्रो पटक निकुञ्ज घुम्न आएका वीरगन्ज महानगरपालिकाकी कर्मचारी निर्मला पौडेलले निकुञ्जको अहिलेको संरचना देखेर अति खुसी लागेको बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वपट्टिको विस्तारित क्षेत्रसँग जोडिएको पर्सा निकुञ्जमा चितवन घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी संरचना निर्माण भइरहेको प्रमुख संरक्षण अधिकृत साहले बताउनुभयो ।
पर्सा निकुञ्जमा पछिल्लो समय भारतीय पर्यटकहरूको आवागमन बढ्दै गएको निकुञ्जले जनाएको छ । पर्सा निकुञ्ज बारा, पर्सा र मकवानपुर ३ जिल्लामा फैलिएको छ ।
यसैबीच प्रदेश २ को एक मात्रै राष्ट्रिय निकुञ्जमा स्थानीय तह र प्रदेश सरकारको कुनै सहयोग र लगानी नभएको निकुञ्जले जनाएको छ ।
सङ्घीय सरकारले तलब, भत्ता, कार्यालय सञ्चालन खर्च सहितको प्रदान गरेको करिब १० करोड बजेटबाटै विकास निर्माणको काम भइरहेको निकुञ्जले जनाएको छ ।
प्रदेश २ ले गौरव गर्ने खालको राष्ट्रिय निकुञ्ज बनाउनुपर्छ भनेर त्यही दिशामा काम अगाडी बढे पनि प्रदेश सरकारले कुनै सहयोग नगरेको निकुञ्जको गुनासो छ ।
https://ift.tt/3qG7R86
प्रतिक्रिया लेख्नुहोस्