बारा । मधेश प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा सवारी दुर्घटनामा परी २ सय ९९ जनाले ज्यान गुमाएका छन् ।
मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैयाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा २ हजार ५ सय ९८ वटा भएको सवारी दुर्घटनामा २ सय ९९ जनाको मृत्यु र १ हजार १ सय ७२ जना गम्भीर घाइते भएका छन् ।
गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५ सय २३ जनाले ज्यान गुमाएका थिए भने १ हजार ९ सय ३० जना गम्भीर घाइते भएका थिए ।मधेश प्रदेशमा भएका साँघुरो बाटोघाटो, जीर्ण पुलपुलेसा, बढी जनघनत्व र जनचेतनाको अभाव कारण अन्य प्रदेशको तुलनामा यहाँ सवारी दुर्घटना बढी हुने गरेको प्रदेश स्तरीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक नन्तीराज गुरुङले जानकारी दिनुभयो ।
उहाँले ट्राफिक नियमको पालना गर्दा आफ्नो साथसाथै अरूको ज्यानको रक्षा गर्न सकिने भएकाले सबैले ट्राफिक नियमको पालना गर्नुुपर्नेमा जोड दिनुभयो । चालु आर्थिक वर्षको ६ महिना पुस मसान्त सम्ममा प्रदेश ट्राफिक प्रहरी कार्यालयले विभिन्न सवारी साधनहरूलाई कारबाही गरी १२ करोड १२ लाख ४१ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
गत आर्थिक बर्ष २०७७।०७८ मा मधेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले १९ करोड १६ लाख ३७ हजार रुपैयाँ सवारी साधनहरूलाई कारबाही गरी राजश्व सङ्कलन गरेको थियो ।
https://ift.tt/jvgfnVUIh
प्रतिक्रिया लेख्नुहोस्