
बीरगंज । एक सातादेखि कठ्याङ्ग्रिँदो जाडो र शितलहरले प्रभावित मध्य तराईका बारा, पर्सा, रौतहटमा आज दिउँसो पहारिलो घाम लागेपछि राहत पुगेको छ ।
एक सातादेखि अत्याधिक जाडो तथा शितलहरले विशेष गरी विपन्न वर्ग तथा दलित समुदायका महिला बालबालिकाहरू बढी प्रभावित भएका थिए ।
जाडोका कारण घरबाट बाहिर निस्कन नसक्ने व्यक्तिहरू समेत आज घरको छत तथा खुला स्थानमा निस्केर घाम तापिरहेका छन् ।
घाम नलाग्दा घर घरमा लामो समयदेखि फोहर रहेका कपडाहरू धुन गृहणीहरुलाई भ्याई नभ्याई भएको थियो । घाम लागेपछि वीरगंज लगायतका बजारमा आज उपभोक्ताहरूको भिड रहेको छ ।
त्यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरूमा समेत सेवाग्राहीहरूको सङ्ख्या बढेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा समेत सेवाग्राहीको सङ्ख्या एक साताको तुलनामा आज अत्याधिक रहेको पर्सा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।

उता बारामा सेवाग्राहीहरू विभिन्न सरकारी कार्यालयमा कामका लागि आउनेको सङ्ख्यामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले जानकारी दिनुभयो ।
बारा पर्सा तथा रौतहटका ग्रामीण क्षेत्रका सरकारी तथा निजी विद्यालयहरू दुई दिनदेखि अत्याधिक बढेको जाडोको कारण बन्द रहे पनि बीरगंज तथा नगर क्षेत्रका विद्यालयहरू भने सञ्चालनमा रहेका छन् ।
आज घाम लागेपछि विद्यालयमा पढ्ने स–साना बालबालिकाहरूलाई समेत राहत पुगेको छ ।
https://ift.tt/3314CjC
प्रतिक्रिया लेख्नुहोस्