
वीरगंज । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले विहारलगायत भारतका केही राज्यमा अवस्था भयावह बनाउन थालेपछि मुलुकको प्रमुख प्रवेशद्वार बीरगंजमा उच्च सतर्कता अपनाउनुको साथै कोरोना नियन्त्रणका लागि पूर्व तयारी सुरु गरिएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न बैठकले ओमिक्रोनबाट भविष्यमा हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न कडा कदम नउठाए अवस्था बिग्रिन सक्ने भन्दै समयमै उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।
बैठकले ओमिक्रोनबाट जोगिन पूर्व तयारी तथा व्यवस्थापन लागि वीरगञ्जस्थित इनर्वा नाकामा स्थापित हेल्थ डेस्कलाई थप सुविधायुक्त र व्यवस्थित बनाउने, भारतबाट आउनेहरूको कडाइका साथ स्वास्थ्य परिक्षण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, वीरगञ्ज क्षेत्र भित्र सञ्चालित खोप केन्द्रहरू अपर्याप्त भएको निष्कर्ष निकाल्दै खोप कार्यालयलाई थप प्रभावकारी बनाउनका निमित्त जिल्ला प्रशासन कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, घण्टाघर र बसपार्क क्षेत्र र सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगरमा थप खोप केन्द्र स्थापना गर्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो ।
बैठकले प्रदेश र सङ्घ सरकारबाट प्राप्त बजेटबाट आवश्यकता अनुसार मास्क र स्यानिटाइजर लगायतका सामग्री खरिद गरी वितरण गर्ने, बढी भिडभाड हुने स्थानमा अनिवार्य मास्क प्रयोग गर्न/गराउन सचेतनामूलक सूचना बनाई प्रचार प्रसार गर्ने, सम्पूर्ण स्थानीय तहलाई अनिवार्य रुपमा कोभिड–१९ को जाँच गर्ने व्यवस्था मिलाउन निर्देशन दिने, स्वास्थ्य कार्यालय पर्सामा प्राप्त जोनसोन एण्ड जोनसोन खोप आवश्यकता अनुसार सबै स्थानीय तहमा पठाउने र ओमिक्रोन भेरिएन्टको संक्रमण तथा जोखिमलाई मध्यनजर गरी जिल्लास्थित स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी तथा जनशक्तिलाई अति आवश्यक काम बाहेक लामो बिदा नदिन निर्देशन दिने पनि निर्णय गरेको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा सम्पन्न बैठकमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्र बहादुर प्रधान, चण्डीप्रसाद गण पर्साका प्रमुख सेनानी मनोज कार्की, पर्सा प्रहरीका प्रमुख रमेशप्रसाद बस्नेत, सशस्त्र प्रहरी पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवल किशोर साहलगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


https://ift.tt/3zwEkSy
प्रतिक्रिया लेख्नुहोस्