वीरगंज । भन्सार विभागले वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारमा परीक्षणका रूपमा लागू गरेको अनलाइनबाटै राजस्व तिर्ने प्रक्रियाको कार्यान्वयनमा समस्या देखिएको छ ।
सेवा प्रदायकको प्रणालीगत सीमितताका कारण भुक्तानीमा झन्झट थपिएको र भन्सार जाँच पासमा ढिलाइ भएको आयातकर्ताले गुनासो गरेका छन् ।
२० लाख रुपैयाँभन्दा बढी राजस्व तिर्नुपर्ने सेवाग्राहीलाई समस्या परेको हो ।
भन्सार जाँच पासलाई छरितो थप छरितो बनाउन पहिलो पटक सुक्खा बन्दरगाह भन्सारमा लागू गरिएको प्रणालीका सुधारको खाँचो रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताउनुभयो ।
भन्सार विभागका अधिकारी र परामर्शदातालाई यसका समस्या र समाधानका उपायबारे जानकारी गराइएको पनि उपाध्यक्ष राजपालले जानकारी दिनुभयो ।
यो प्रणालीमार्पmत प्रयोगकर्ताले नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस, मोबाइल एप, कर्पोरेट पे, एनएचसीएल बैङ्क सेन्टर र एलएचसीएलमार्पmत राजस्व भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
व्यवसायीका अनुसार यो प्रणालीअन्तर्गत कर्पोरेट पेमार्फत भुक्तानी गर्दा बढी समस्या देखिएको छ । २० लाख रुपैयाँभन्दा बढी राजस्व भुक्तानीका लागि यो प्रणाली प्रयोग गर्नुपर्ने हुन्छ । १ तिहाइभन्दा बढी कन्साइन्मेन्टमा राजस्वको यो सीमा लागू हुने आयातकर्ता बताउँछन् ।
कर्पोरेट पेमार्फत दिउँसो २ बजेभन्दा पछाडिको भुक्तानी भोलिपल्ट मात्रै भन्सारको खातामा जाने भएपछि भन्सारमा एक दिन बढी समय लाग्ने गरेको राजपालले बताउनुभयो ।
अन्य माध्यमबाट २० लाख रुपैयाँभन्दा बढीको भुक्तानी गर्न नमिल्ने र एकै पटक गर्नुपर्ने भएकाले मालसामानको जाँच पासमा बढी समय लागेको र यसबाट लागत बढ्न जाने व्यवसायीको भनाइ छ ।
कर्पोरेट पेमा शुक्रवार १२ बजेसम्म मात्रै काम हुने र शनिवार भुक्तानीको काम नै नहुने भएपछि झन् विलम्ब हुने आयातकर्ताले बताएका छन् ।
त्यसअघि गुड फर पेमन्टमार्फत साँझ ६ बजेसम्म ३६५ दिन नै काम हुनेमा यो प्रणालीले काम गर्ने समय घटेकाले खर्च बढ्ने दाबी राजपालको छ ।
भन्सार विभागले पुस १ गतेदेखि सुक्खा बन्दरगाहमा लागू गरेको यो प्रणालीलाई माघ १ गतेदेखि देशभरका सबै भन्सार कार्यालयमा कार्यान्वयनमा ल्याउने योजना बनाएको छ ।
परीक्षण कार्यान्वयनकै क्रममा समस्या देखिएकाले प्रणालीमा सुधार गरेर मात्रै अन्यत्र लागू गरिनुपर्ने सुझाव वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीपकुमार केडियाले बताउनुभयो ।
भन्सार विभागले सहजीकरणको लागि सेवाग्राहीसित छलफल गरेको र सहजीकरणमा भन्सार प्रशासन प्रयासरत रहेको बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताउनुभयो ।
नयाँ प्रणालीको प्रयोगबाट राजस्व बुझाउन भन्सार एजेन्टहरूले नगद रकम बोक्नुपर्ने, गुड फर पेमेन्ट चेक तयारीका लागि बैङ्कमा धाउनुपर्नेलगायत समस्या हटेको भए पनि अन्य थप समस्या उत्पन्न भएकाले समस्या समाधान तर्फ भन्सार विभाग तत्काल लाग्नु पर्ने व्यवसायिहरुको माग छ ।
https://ift.tt/32HQfkr
प्रतिक्रिया लेख्नुहोस्