
वीरगंज । बारा र रौतहटमा भएका छुट्टाछुटै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
वीरगंज कलैया सडक खण्डको सिसहनिया चोकमा गएराति भारतीय नम्बरको बीआर ०५ ए आर ५१५१ नम्बरको स्कारपियोले वीरगंजबाट कलैया आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी राजेश थापाले बताउनुभयो ।
दुर्घटनामा गम्भीर घाइते मोटर साइकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर ५ निवासी ४० वर्षीय नरेश साह र ५५ वर्षीय सितल साहको उपचारको क्रममा गएराति नै वीरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता थापाले बताउनु भयो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रौतहटको गरुडा नगरपालिका–४ बैरिया गाउँमा गएराति ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
गरुडाबाट मलाही टोल जाने क्रममा उनीहरू सवार मोटरसाइकल दुर्घटना भएको थियो । घाइते दुवै जनालाई उपचारका लागि रौतहटको ग्राण्डी अस्पतालमा लैजाने क्रममा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी रौतहटको फतुवा विजयपुरमा रोकी राखेको ट्याक्टर अचानक ओरालो तर्फ ब्याक हुँदा ट्याक्टरले किचेर ४ वर्षीय नाबालकको ज्यान गएको छ ।
रौतहटको फतुवा विजयपुर ९ बडहरवा टोलमा आज बिहान १० बजे अनटेस्ट नम्बरको सोनालिका ट्याक्टरले किच्दा स्थानीय सनोज यादवको ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्षमिनिया रौतहटका प्रहरी निरीक्षक विष्णु विश्वकर्माले जानकारी दिनुभयो ।
ट्याक्टरको चालक मनोज यादवले आफ्नो घर अगाडी ट्याक्टर रोकेर काम विशेषले घर भित्र गएको र रोकी राखेको ट्याक्टर अचानक ब्याक भई सडकमा खेली रहेका बालकलाई किच्दा उनको घटना स्थलमै ज्यान गएको प्रहरी निरीक्षक विश्वकर्माले बताउनु भयो । घटना पछि ट्याक्टरको चालक फरार भएको र मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको विश्वकर्माले बताउनुभयो ।
https://ift.tt/3vkuu3V
प्रतिक्रिया लेख्नुहोस्