जनकपुरधाम । धनुषाको सीमावर्ती क्षेत्र नगराइनबाट सशस्त्र प्रहरीले एक जनालाई श्रोत नखुलेको ३८ लाख भन्दा बढी रुपैयाँ सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका वडा नंं १ का वर्ष २३ अमित कुमार यादव रहेको सशस्त्र प्रहरी गण धनुषाले जनाएको छ ।
प्रदेश २–०२ ००१ प ०४७७ नम्बरको अपाची मोटरसाइकलको ट्याङ्कीमा लुकाई राखेको ३८ लाख ३५ हजार रुपैयाँ सहित मोटरसाइकलका चालक यादवलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र सेनले जानकारी दिनु भएको छ ।
भारतबाट जटही नाका हुँदै नेपालतर्फ आइरहेका बेला शङ्का लागेर सशस्त्र प्रहरीको नगराइनको बिओपीमा कार्यरत रहेका सशस्त्र प्रहरी नायव निरीक्षक सञ्जय बरालको टोलीले चेकजाँच गरेपछि उक्त रकम फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
अपाची मोटरसाइकलको ट्याङ्कीमा बिर्कोको सट्टाको नटबोल्ट लागेको देखेपछि शङ्का लागेर खोल्दा रुपैयाँले भरिएको पाएपछि युवालाई तत्काल नियन्त्रणमा लिइएको थियो ।
मोटरसाइकलको ट्याङ्कीबाट १ हजार दरको नोट २७ लाख, ५ सय दरको नोट ११ लाख, १ सय दरको नोट ३० हजार र ५० दरको नोट ५ हजार गरी कुल ३८ लाख ३५ हजार श्रोत नखुलेको रुपैयाँ बरामद भएको छ ।
पक्राउ परेका यादवले उक्त रकम कहाँबाट ल्याएको कुरा बताउन नचाहेको सशस्त्र प्रहरीले जनाएको छ । स्रोतका अनुसार उनी हुण्डी कारोबारी रहेको आशङ्का गरिइएको छ । विगत केही समय यता नेपाल भारतको सिमानाकाबाट भारी परिणाममा श्रोत नखुलेका नोट बरामद हुँदै आएको छ ।
https://ift.tt/3F2zH3A
प्रतिक्रिया लेख्नुहोस्