बीरगंज । जिल्ला निर्वाचन कार्यालय पर्साले यही फागुन २० गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक दाबी विरोध गर्न आह्वान गरेको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजनाको सभाकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्सा जिल्ला निर्वाचन अधिकृत रञ्जिता झाले मतदाता नामावलीमा भएका त्रुटिहरूलाई सच्याउनका लागि मतदाता नामावली ऐन २०७३ को दफा १४, १५, १६ र १८ बमोजिम मतदाताहरूले फागुन २० गतेदेखि २६ गतेसम्म ७ दिन निवेदन दर्ता गराउन सक्ने जानकारी दिनुभयो ।
पर्सा जिल्लामा पुरुष १ लाख ९४ हजार ६ सय ९१, महिला १ लाख ५० हजार ९७ तथा तेस्रो लिङ्गी १६ जना गरी ३ लाख ४४ हजार ८ सय ४ जना मतदाताहरूको सङ्ख्या रहेकोमा ती मतदाताहरूको नामावलीमा केही त्रुटि भए, झुटो विवरण पेस गरी मतदाता परिचयपत्र प्राप्त गरेको भए अथवा नागरिकता त्याग गरेको मतदाताहरूले आफ्नो नामावली सच्याउनको लागि जिल्ला निर्वाचन कार्यालयमा अनिवार्य रुपमा निवेदन दिनुपर्ने बताउनुभयो ।
उहाँले दाबी विरोधको लागि ७ दिनको समय निर्वाचन आयोगले दिए पनि विभिन्न शीर्षकमा फरक फरक समय तोकिएको बताउनुभयो ।
मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि मतदाताहरूले फागुन २०, २१ र २२ गते तीन दिन मात्रै निवेदन दिन पाउने व्यवस्था रहेको छ भने नागरिकता त्याग गरेकाहरूले आफ्नो मतदाता नामावलीबाट नाम हटाउनका लागि फागुन २०, २१, २२ र २३ गरी ४ दिनसम्म निवेदन दर्ता गराउन सकिने उहाँले बताउनुभयो ।
उहाँले कसैले झुटो विवरण पेस गरी मतदाता परिचय पत्र प्राप्त गरेको छ भने त्यसको लागि प्रमाणसहित मात्रै निवेदन दर्ता गराउनुपर्ने बताउनुभयो । हचुवाको भरमा विना प्रमाण उजुरी दिए कुनै किसिमको कारबाही नहुने भन्दै आफ्नो झुटो विवरणकर्ताको नागरिकता नम्बर, आमा बुवाको नाम, ठेगाना लगायतका प्रमाणहरू पनि पेस गर्नुपर्ने बताउनुभयो ।
मतदाता परिचयपत्र नष्ट भएको वा हराएको अवस्थामा यही फागुन २० गतेसम्म सम्बन्धित वडाको सिफारिससहित निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने भन्दै निर्वाचन अधिकारी झाले मतदान गर्नको लागि मतदाता परिचय पत्रभन्दा पनि नामावली अनिवार्य रहेको बताउनुभयो ।
उहाँले मतदाता नामावलीमा नाम रहेको तर परिचयपत्र नभएको खण्डमा फोटो सहितको नागरिकता एवं लाइसेन्सको आधारमा मतदान गर्न सकिने तर उम्मेदवारको हकमा मतदाता परिचयपत्र अनिवार्य रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन अधिकारी झाले निर्वाचन जनप्रतिनिधि एवं राजनीतिक दलसँग सम्बन्धित भएको कारण सम्पूर्णको सहयोग आवश्यक रहेको भन्दै यस मतदाता नामावली अद्यावधिक दाबी विरोध सहितको कार्यक्रमबारे सम्पूर्ण पालिकाका जनप्रतिनिधिहरूले आफ्नो पालिका लगायत सम्पूर्ण वडाहरूमा निर्वाचन कार्यालयले उपलब्ध गराएको सूचना यही फागुन १९ गते अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने बताउनुभयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चल पाण्डे, जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेकमहम्मद अन्सारी, पकहामैनपुर गाउँपालिका अध्यक्ष विजय चौरसिया, जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ, जसपाका नेता रामनरेश यादव, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत लगायत विभिन्न गाउँपालिकाका, नगरपालिकाका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
https://ift.tt/unsSeYK
प्रतिक्रिया लेख्नुहोस्