
जनकपुरधाम । महाशिवरात्रिको अवसरमा प्राचीन मिथिलाका राजधानी जनकपुरधामको चार कुनामा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको शिव मन्दिरहरूमा भक्तजनहरूको बिहानदेखि घुइँचो रहेको छ ।
जनकपुरधामको शिव चौकमा रहेको शिव मन्दिर, स्वर्गद्वार स्मशान घाटमा रहेको भूतनाथ मन्दिरमा बिहानदेखि नै भक्तजनहरूले पूजापाठ गरिराख्नुभएको छ । यसका साथै जनकपुरधामको चार कुनामा रहेको मन्दिरहरूमा पनि भक्तजनको भिड रहेको छ ।

जनकपुरधामको वडा नंं १६ मा रहेको कपिलेश्वरनाथ, वडा नंं १५ मा रहेको कपिलेश्वरनाथ, महोत्तरीको जलेश्वरनाथ तथा महोत्तरीकै टुटेश्वरनाथ तथा धनुषाको क्षिरेश्वरनाथ, धनुषा धामसहितको ठाउँमा भक्तजनको अत्यधिक भिड रहेको छ ।
राजा जनकको द्वारपालको रुपमा भगवान् शिव नै रहेको मान्यता अनुसार जनकपुरधामको चारै कुनामा अहिले ऐतिहासिक तथा धार्मिक महत्त्वको शिव मन्दिरहरू रहेका छन् ।

भगवान् शिवको आजको दिन पूजापाठ गर्नाले विशेष फल प्राप्ति हुने भएकाले भक्तजनहरू उपवास बसेर जल, दूध, भाङ, धतुरो, फूल, अक्षतसहितको सामग्रीहरु चढाएर पूजा अर्चना गरिरहेका छन् ।
यस दिन कतिपयले उपवास बसेर पूजा अर्चना गरेर भगवान् शिवलाई प्रसन्न पार्ने गरेका छन् ।

जनकपुरधामको भूतनाथ मन्दिरमा युवा युवतिहरूले उत्साहित भएर शिवका प्रिय त्रिपुण्ड चन्दन गर्नका लागि बिहानदेखि नै भिड लागेका छन् ।

https://ift.tt/jcs8H2o
प्रतिक्रिया लेख्नुहोस्