
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा दाइजोका कारण एक युवतीको हत्या भएको छ । पर्सा गाउँपालिका वडा नं.१ शितलपुर बस्ने बालदत्त भन्ने रमजेश कुमार रायले, रायको बुवा राम प्रताप राय र रायको भाइ राजु यादव गरी तीनै जना मिली २० वर्षीया निशा यादवको हत्या गरेको छ ।
निशाको शव ४८ दिन पछि अभियुक्तहरूको आफ्नो घर देखि करिब ४ कि.मि. पूर्व उत्तर तर्फ रहेको आफ्नै २ कठ्ठा क्षेत्रफल खेतमा खाल्डो खनी लास पुरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनामा संलग्न श्रीमान् सहित ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गत जेठ २३ गते महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ६ मगरथाना बस्ने निशाको बुबा कैलाश रायले जिल्ला प्रहरी कार्यालयमा छोरी खोजतलास तथा विपक्षीहरूलाई आवश्यक कारबाही गरी पाउ बारेमा निवेदन दिएका थिए । यसैगरी निशाको बुबाले निवेदन दिएको भोलिपल्ट जेठ २४ गते निशाको ससुरा राम प्रतापले जिल्ला प्रहरी कार्यालयमा बुहारी निशा हराएकोले खोज तलास गरी पाउँ भनी निवेदन दिएका थिए ।

निवेदनका आधारमा प्रविधियुक्त विश्लेषण गर्ने क्रममा निशा यादवको घर परिवारको सदस्यहरु उपर शङ्का लागि निजको श्रीमान् रमजेश, ससुरा राम प्रताप र देवर राजु सँग घटनाको सम्बन्धमा वास्तविक बुझ्ने क्रममा निशाको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
शव पुरेको स्थलमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेल समेतको अनुसन्धान टोली गई निजहरूले देखाएको स्थान धान रोपेको खेतको आली छेउमा लम्बाई ५ फिट ३ इन्च, चौडाइ ४ फिट १ इन्च र गहिराई ६ फिट २ इन्च खाल्डो खन्दा जलेको अवस्थामा जुटको बोरा, पराल, रातो रङको साडी तथा सडी गलेको अवस्थामा लास फेला परेको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिए । घटना के कारणले घटेको अहिले खुल्न सकेको छैन अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक यादवले बताउनुभयो ।
मृतक निशाको १ वर्ष पहिला अन्दाजी २५ वर्षीय बालदत्त भन्ने रमजेश सँग मागी विवाह भएको थियो । विवाहको केही महिना पछि छोरीलाई दाइजोको निहुँमा पटक पटक मानसिक तथा शारीरिक यातना समेत दिएको मृतकको बुबा कैलाशले दाबी गरे । मधेशी समाजमा छोरीको घर छुटाउँदा बदनामी हुन्छ अर्को विवाह गर्न समस्या हुने भन्दै छोरीलाई सम्झाई बुझाई जोइकै घरमा पठाए । पटक पटक विवाद हुँदै जाँदा आज छोरीको सडे गलेको अवस्थामा शव फेला पर्यो निशाको बुबा रुँदै भने । छोरी बिरामी पर्दा पनि छोरीको परिवारले औषधी गराउँदैनथ्यो । छोरीको मृत्यु हुनु भन्दा पहिला केही दिन अगाडि माइती सोनमा गाउँपालिका वडा नं. ६ मगरथाना आएकी थिइन ।
छोरीलाई केही दिन माइतीमै बस्न दिनु भनेपछि जुवाइँले अर्को विवाह गर्छु भनी धम्क्याएका थिए । धम्क्याएपछि छोरी पठाएपछि जेठ २२ गते का राती छोरीलाई कुटपिट गरी जुवाइँ र छोरीको ससुरा र देवर मिलेर हत्या गरेको मृतक युवतीको बुबा कैलाशले बताए । अव मेरो छोरी त फिर्ता आउँदैन तर दोषीलाई हदै सम्मको कारबाही होस ताकी अरूले पनि यस्तो घटना गर्न डराओस् मृतकको बुबा कैलाशले भने ।
प्रतिक्रिया लेख्नुहोस्