![](https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/IMG_20220729_094515.jpg?resize=720%2C702&ssl=1)
मधेसखबर
वीरगन्ज,१३साउन: बाराको सिम्रौनगढ नगरपालिकामा कर्मचारीको जिम्मेवारी हेरफेरको विषय लिएर भएको विवाद झडपमा परिणत हुँदा ९ जना घाइते भएका छन् ।
बिहीबार बेलुका भएको झडपमा ४ जना स्थानीय र ५ जना प्रहरी गरी ९ जना घाइते भएका हुन् ।
घाइतेमध्ये एक जनाको वीरगन्जको अस्पतालमा तथा अरु आठ जनाको सिम्रौनगढ नगर अस्पताल र कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको टाउको, कोखा, चिउडो, तिघ्रा, हातखुट्टामा चोट लागेको छ ।सबैको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।
सिम्रौनगढ नगरपालिका कार्यालय अन्तर्गत शिक्षा शाखाको प्रमुखमा नुराजन अन्सारीको कार्य सन्तोषजनक नभएको भन्दै जिम्मेवारीबाट हटाएर नगरपालिकाले अजानी माविका शिक्षक कमलेश अग्रहरीलाई जिम्मेवारी दिएको विषयमा उपमेयर नजमु शेहरका पति शेख मोतिम र वडा नम्बर ४ का वडा अध्यक्ष अवधेश सहनी बीच भनाभन हुँदा विवादले उग्ररुप लिएको थियो ।
त्यसपछि सहनीका पक्षधरले नगरपालिकामा ढुंगामुढा र तोडफोड गर्न खोज्दा स्थिति तनावपूर्ण बनेको थियो । सोही क्रममा प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसहित बल प्रयोग गर्न खोज्दा झडप भएको थियो । भीड तितरबितर गर्न प्रहरीले १५ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
झडपमा सिम्रौनगढ ४ का रविकुमार सहनी, रामनिवास राम, वडा ९ का उमेश यादव, गौरीशंकर यादव घाइते भएका हुन् । यसैगरी प्रहरीतर्फ प्रहरी सहाय निरीक्षक भवमोचन झा, हवल्दार मदन साह तेली, रमेश राय यादव, उमेश यादव र सशस्त्र प्रहरी हवल्दार प्रमोद साह घाइते भएका हुन् ।
The post सिम्रौनगढ नगरपालिकामा कर्मचारी हेरफेरको विवादमा झडप , ९ जना घाइते appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्