वीरगंज , भदौ १ —
पर्सागढी नगरपालिका–३ भेडहास्थित सबैया साझेदारी वन क्षेत्रमा अवैधरूपमा बालुवा उत्खननमा संलग्न दुई वटा ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेल्वाबाट खटिएको टोली र सब–डिभिजन वन कार्यालय, सबैयाबाट खटिएको संयुक्त गस्ती टोलीले बालुवा उत्खनन गरी ट्याक्टरमा लोड गर्दै गरेको अवस्थामा दुई जना चालकसहित ट्याक्टर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ना.६ त ३६२३२ र ना.६ त ६४२३ नम्बरका ट्याक्टर तथा चालकलाई आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय, सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।