बारा , भदौ ५ –
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनापछि इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्री र प्रहरी निरीक्षक प्रकाश थापालाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ।
प्रहरी प्रधान कार्यालयले सिमराको सुरक्षा कमान्डबाट दुवै जनालाई हटाएर प्रधान कार्यालयमा बोलाएको हो। सिमराको नयाँ डीएसपीका रूपमा दयाकृष्ण भट्ट आउने भएका छन्।
बालिका बेपत्ता भएपछि समयमै खोजी कार्यमा चासो नदिएको र सुरक्षा व्यवस्थापनमा समेत कमजोरी गरेको आरोप डीएसपी क्षेत्री र इन्स्पेक्टर थापामाथि लाग्दै आएको थियो। घटनापछि स्थानीयवासी तथा मृतकका परिवारले प्रहरीको लापरवाहीमाथि प्रश्न उठाउँदै उनीहरूलाई कारबाही गर्न माग गर्दै आएका थिए।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआईजी ओमप्रकाश अधिकारीले क्षेत्री र थापालाई प्रधान कार्यालय तानिएको पुष्टि गरेका छन्। उनले औपचारिक लिखित जानकारी आइनसकेको भए पनि दुवै जनालाई प्रधान कार्यालय बोलाइएको जानकारी दिएका छन्।
गत साउन ३१ गते बिहान घरबाट हराएकी जीतपुरसिमराकी तीन वर्षीया बालिकाको तेस्रो दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटनापछि दोषीलाई कडा कारबाही र प्रहरीको भूमिकामाथि छानबिनको माग गर्दै स्थानीयवासीले आन्दोलनसमेत गर्दै आएका छन्।