वीरगंज, भदौ ५ –
पर्साका निजी तथा आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीले वीरगंज न्यूरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टरबाट उपलब्ध स्वास्थ्य उपचार सेवामा १५ प्रतिशत सहुलियत पाउने भएका छन्।
स्वास्थ्य सेवामा सहज पहुँच र उपचार खर्चमा राहत दिने उद्देश्यले प्याब्सन पर्सा र वीरगंज न्यूरो एण्ड जनरल हस्पिटलबीच सहुलियतसम्बन्धी सम्झौता भएको हो।
सम्झौतामा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, वीरगंज महानगर प्याब्सनका अध्यक्ष राहुल श्रीवास्तव र अस्पतालका सञ्चालक डा. श्यामबाबु प्रसादले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार आबद्ध विद्यालयका विद्यार्थी, उनीहरूका अभिभावक, शिक्षक तथा प्रशासनिक र अन्य कर्मचारीले अस्पतालबाट उपलब्ध स्वास्थ्य सेवामा १५ प्रतिशत छुट पाउनेछन्। सहुलियत लिन विद्यार्थीले विद्यालयको परिचयपत्र तथा अभिभावकले विद्यार्थीको परिचयपत्र वा आवश्यक सिफारिसपत्र प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ।
आकस्मिक अवस्थामा परिचयपत्र वा सिफारिस तत्काल उपलब्ध नभए पनि उपचारमा ढिलाइ नगरिने अस्पतालले जनाएको छ। साथै, दुवै पक्षले स्वास्थ्य सचेतना कार्यक्रम, स्वास्थ्य परीक्षण तथा स्वास्थ्य शिविर सञ्चालनमा समेत सहकार्य गर्ने सहमति गरेका छन्।