वीरगंज , भदौ ६ —
भारतबाट नेपालतर्फ अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेको आरोपमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले दुई नेपाली युवकलाई पक्राउ गरेको छ।
बिहारको पूर्वी चम्पारणस्थित अगरवा क्षेत्रमा शुक्रबार साँझ खटिएको ७१औँ वाहिनी एसएसबीको टोलीले ८५५ किलो युरिया मल, ५० किलो खैनी र चारवटा साइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–क्षेत्र नानसागरा घाटका १८ वर्षीय आदित्य नारायण मुखिया र १९ वर्षीय अमिरखा मुखिया रहेका छन्। उनीहरूलाई सीमा स्तम्भ नम्बर ३६० बाट करिब २०० मिटर भारततर्फबाट पक्राउ गरिएको एसएसबीले जनाएको छ।
त्यसैगरी, एसएसबीले बडहरवा बोर्डर क्षेत्रमा गरेको अर्को कारबाहीमा २४ बोरा युरिया मल, एउटा मोटरसाइकल र चारवटा साइकल बरामद गरेको छ। सो क्रममा भारतीय नागरिक गोपाल रायलाई पक्राउ गरिएको जनाइएको छ।
पक्राउ परेका व्यक्ति तथा बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि सीमा शुल्क कार्यालय मोतिहारीमा बुझाइएको एसएसबीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार बढेपछि भारतीय सुरक्षाकर्मीले निगरानी तथा गस्ती थप कडा बनाएका छन्।