वीरगंज , भदौ ५ –
सशस्त्र प्रहरी बल पर्साले सीमा क्षेत्रमा भन्सार छली गरी ओसारपसार गरिएका ८ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले सीमा क्षेत्रमा चेकजाँच तथा गस्ती गर्ने क्रममा कुल ८ लाख ५ हजार ९ सय रुपैयाँ बराबरका प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला, मदिरा, कपडा, किराना सामान तथा मोटरसाइकल नियन्त्रणमा लिएको हो।
प्रसौनीभाठा र सुरक्षा बेस पोखरियाबाट खटिएको संयुक्त टोलीले विन्दवासिनी गाउँपालिका–४ कुकैयास्थित सीमा क्षेत्रबाट ३ लाख रुपैयाँ बराबरका ३० कार्टुनमा रहेका ३ हजार वटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्लासहित एक जनालाई नियन्त्रणमा लिएको छ। पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार तथा नेपाल प्रहरीको रोहबरमा चल्ला नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसैगरी, ब्रह्मनगरबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १ लाख ५४ हजार ९ सय रुपैयाँ बराबरको मदिरा र मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ। उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ।
यस्तै, सीमा सुरक्षा गुल्म हेडक्वार्टर अलौबाट खटिएको टोलीले बौधिमाई नगरपालिका–९ विश्रामपुरलगायतका सीमा क्षेत्रबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको ३ लाख ५१ हजार रुपैयाँ बराबरको कपडा, मोटरसाइकल तथा विभिन्न किराना सामान नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।