वीरगंज, भदौ ५ –
खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड उल्लंघन गर्ने वीरगंजका विभिन्न मिठाई पसल तथा होटललाई संयुक्त अनुगमन टोलीले १ लाख ३५ हजार रुपैयाँ जरिवाना गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य ल्याब भ्यानसहित गरिएको अनुगमनका क्रममा खुला रूपमा राखिएका मिठाई, अस्वच्छ भान्सा, असुरक्षित रूपमा भण्डारण गरिएका खाद्य सामग्री तथा माखा–झिँगा भेटिएका थिए।
अनुगमनका क्रममा वीरगंज महानगरपालिका–१६ नगवा सेकेन्ड बाइपासस्थित जय हिमाल मिष्ठान भण्डारलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। पसलमा खुला रूपमा राखिएको करिब ५० लिटर दूध र १०० किलो चिनीको चास्नीमा माखा–झिँगा भेटिएपछि उक्त सामग्री नष्ट गरिएको थियो। पसललाई सात दिनभित्र सरसफाइ सुधार गर्न निर्देशन दिइएको छ।
त्यस्तै, वीरगंज–१६ इनर्वास्थित माँ बैणवी मिष्ठान भण्डारमा मिठाई उत्पादन गर्ने स्थान अत्यन्त अस्वच्छ र मापदण्डविपरीत भेटिएपछि मिठाई तथा चिनीको चास्नी नष्ट गरिएको छ। सञ्चालकलाई सात दिनभित्र मापदण्डअनुसार सुधार गरी कार्यालयलाई जानकारी गराएर मात्र उत्पादन सञ्चालन गर्न निर्देशन दिइएको छ। निर्देशन पालना नगरे उद्योग सिल गर्ने चेतावनीसमेत दिइएको छ।
वीरगंज–१६ नगवा पोखरीस्थित मनोकामना मिष्ठान भण्डारलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। खुला रूपमा राखिएको मिठाईमा माखा–झिँगा भेटिएपछि मिठाई नष्ट गरिएको थियो।
यसैगरी, वीरगंज–१५ बाइपास मेनरोडस्थित होटल हिमाल एन्ड भान्सा घरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। होटलको भान्सा फोहोर रहेको, बिग्रिएको चपिङ बोर्ड प्रयोग भएको, मसला खुला रूपमा राखिएको तथा फ्रिजमा खाद्य सामग्री नछोपी राखिएको पाइएपछि जरिवाना गरिएको हो। होटललाई तीन दिनभित्र सुधार गर्न निर्देशन दिइएको छ।
अनुगमन टोलीका अनुसार होटल भिस्वामा भने उल्लेखनीय कैफियत भेटिएको छैन।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक श्रवण साहले खाद्य सामग्रीलाई धुलो, धुवाँ, माखा–झिँगा तथा अन्य किराफट्याङ्ग्राबाट सुरक्षित राख्न व्यवसायीलाई निर्देशन दिइएको बताएका छन्। खाद्य स्वच्छता र गुणस्तरमा लापरवाही गर्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उनले जानकारी दिएका छन्।
अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज, खाद्य प्रविधि तथा गुण डिभिजन कार्यालय वीरगंज, जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगंज उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च नेपाललगायतका प्रतिनिधिको सहभागिता रहेको थियो।
अनुगमन टोलीले आगामी दिनमा पनि खाद्य व्यवसायको नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।