पोखरिया- चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै जाने भरतपुर–माडी–ठोरी हुलाकी राजमार्गको स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक स्तरोन्नतिको प्रक्रिया शुरू भएसँगै माडीवासीमा सडक सुधार हुने आशा पलाएको छ ।
प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रक्रिया अन्तर्गत सडकको दायाँ–बायाँ १५–१५ मिटर क्षेत्रभित्र पर्ने रूखको पहिचान, छपान तथा नम्बरिङ कार्य सम्पन्न गरिएको छ । उक्त क्षेत्रमा एक हजार ९९६ वटा रूख रहेको पहिचान भएको छ ।
परामर्शदाता कम्पनीले वातावरण व्यवस्थापन योजनासहित आइइई प्रतिवेदन तयार गरिरहेको छ । प्रतिवेदन तयार भएपछि आगामी भदौमा सार्वजनिक सुनवाइ गर्ने तयारी गरिएको छ । आवश्यक प्रक्रिया पूरा गरी दशैं अघि नै अन्तिम आइइई प्रतिवेदन बुझाउने लक्ष्य राखिएको छ ।
निकुञ्ज क्षेत्र हँुदै जाने सडक लामो समयदेखि जीर्ण हुँदा माडी तथा आसपासका बासिन्दाले आवतजावतमा समस्या भोग्दै आएका छन् । विशेषगरी वर्षायाममा खाल्डाखुल्डी, हिलो र पानी जम्ने समस्याका कारण यातायात सञ्चालन प्रभावित हुने गरेको छ । सडक स्तरोन्नति भएमा माडीवासीको दैनिक आवतजावत सहज हुनुका साथै भरतपुर–माडी–ठोरीको यातायात सम्पर्क थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । यद्यपि निकुञ्ज संवेदनशील पर्यावरणीय क्षेत्र भएकोले सडक स्तरोन्नतिका क्रममा वन तथा वन्यजन्तुको संरक्षणलाई प्राथमिकतामा राख्दै विकास र वातावरणबीच सन्तुलन कायम गर्नुपर्ने सरोकारवालाको जोड छ ।