बारा, भदौ ७ —
बाराको कलैया उपमहानगरपालिका–१ पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला परेकी छन्। शुक्रबार साँझ करिब ५:३० बजे घरअगाडिबाट हराएकी बालिका खोजी गर्ने क्रममा शनिबार बिहान करिब ५:४५ बजे कलैया उपमहानगरपालिका–२६ स्थित एक स्थानीय महिलाले फेला पारेकी हुन्।
बालिका हराएको सूचना पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी खोजी तीव्र पारिएको थियो।
फेला परेपछि प्रहरी टोलीले बालिकालाई आफन्तको जिम्मा लगाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगेको जनाएको छ। प्रहरीले बालिकाको अवस्था सामान्य रहेको जनाएको छ।
बालिका घरबाट करिब एक किलोमिटर उत्तरतर्फ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।