पर्सा , साउन २७ –
देशभर तीन साताअघि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै कायमै रहेको छ। आपूर्ति केही सहज हुन थाले पनि डिपोबाट सर्वसाधारणले सहज रूपमा ग्यास पाउन सकेका छैनन्।
डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यासका लागि अझै ३ देखि ७ दिनसम्म कुर्नुपर्ने अवस्था रहेको जनाइएको छ।
अभावका बीच नेपाल आयल निगमले काठमाडौंको टेकुबाट दैनिक एक हजारभन्दा बढी सिलिन्डर बिक्री गरिरहेको छ। तर एउटै व्यक्ति पटक–पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेको निगमले जनाएको छ।
दिउँसो डिपो बन्द गरेर राति महँगो मूल्यमा ग्यास बिक्री गर्ने कालोबजारी बढेको गुनासो आएपछि प्रहरी परिचालन गरी कारबाही प्रक्रिया अघि बढाइएको निगमले जनाएको छ।
हाल भारतबाट दैनिक एक सयभन्दा बढी ग्यास बुलेट नेपाल भित्रिरहेको बताइएको छ। आयात बढे पनि विगतको अभावका कारण खाली भएका सबै सिलिन्डर भर्न र बजार पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन अझै करिब एक महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले बताए।
यता, नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले भने एक साताभित्रै ग्यासको आपूर्ति सहज हुने दाबी गरे।