पर्सा , भदौ ५ –
काठमाडौंको शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा तीन युवकबीच कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार होस्टलमा दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी, बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलबीच कुटपिट भएको थियो। कुटपिटका क्रममा धारिलो हतियारसमेत प्रयोग भएको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका वसन्तलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा चोट लागेका उनी अस्पताल पुग्दा बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
उपचारका क्रममा वसन्तको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले शेखर यादवलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।