वीरगंज , भदौ ४ –
नेपाली कांग्रेस पर्साका पूर्वसभापति तथा पूर्वसभासद राजेन्द्रबहादुर अमात्यलाई हृदयाघात भएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ।
बिहीबार दिउँसो अचानक हृदयाघात भएपछि अमात्यलाई वीरगंजस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि उनको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।
चिकित्सकको निगरानीमा उपचार गराइरहेका अमात्यलाई थप स्वास्थ्य परीक्षण तथा विशेषज्ञ उपचारका लागि काठमाडौंस्थित मेडीसिटी अस्पताल लैजाने तयारी भइरहेको जनाइएको छ।
अमात्य नेपाली कांग्रेस पर्सामा लामो समयदेखि सक्रिय नेता हुन्। उनले पार्टीको जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्नुका साथै पूर्वसभासदका रूपमा राजनीतिक तथा सामाजिक क्षेत्रमा समेत योगदान दिएका छन्।
अमात्यलाई हृदयाघात भएको खबर सार्वजनिक भएपछि कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।