पर्सा , साउन ३१ –
देशभर खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला ग्यास बिक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण प्रणालीलाई पन्छाएर उद्योग तथा विभिन्न केन्द्रबाट ग्यास बिक्री गर्दा अभाव थप जटिल बनेको बताएका छन्। उनले विक्रेतालाई ग्यास नदिने र अनुगमनका नाममा दुःख दिने सरकारी कार्यशैलीले बजार अस्तव्यस्त बनेको बताएका छन्।
महासंघले उद्योग र बिक्री केन्द्रबाट हुने प्रत्यक्ष बिक्री रोक्दै बिक्रेता तथा डिलरमार्फत मात्रै ग्यास वितरण गर्न माग गरेको छ। डिलरमार्फत वितरण प्रणाली व्यवस्थित गरे उपभोक्ताले भोग्दै आएको सास्ती अन्त्य हुने महासंघको दाबी छ।
महासंघका अनुसार पछिल्लो चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको छ। बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख नयाँ सिलिन्डर रहेको भन्दै नयाँ सिलिन्डरको बिक्रीसमेत तत्काल रोक्न माग गरिएको छ।
नयाँ सिलिन्डर बिक्री नरोकिए आगामी वर्षहरूमा ग्यास अभावको समस्या अझ विकराल बन्ने महासंघले चेतावनी दिएको छ। महासंघले वास्तविक समस्या समाधान गर्न नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारलाई आग्रह गरेको छ।