पर्सा , साउन २८ –
पर्साको पटेर्वासुगौली गाउँपालिका–५ का वडाध्यक्ष विपिन मुखियाले वडाभित्र कार्यरत छ जना चौकीदारलाई साइकल, टर्चलाइट र बर्साती (रेनकोट) वितरण गरेका छन्।
चौकीदारहरूको कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले वडाध्यक्ष मुखियाले प्रतिव्यक्ति एक थान साइकल, एक थान टर्चलाइट र एक थान बर्साती वितरण गरेको वडा कार्यालयले जनाएको छ।
गाउँटोलको सुरक्षा तथा सुव्यवस्था कायम गर्न दिनरात खटिने चौकीदारको मनोबल उच्च बनाउँदै दैनिक कामलाई थप प्रभावकारी बनाउन सामग्री उपलब्ध गराइएको जनाइएको छ।
सामग्री वितरण कार्यक्रममा वडा सदस्यहरूले चौकीदारहरू गाउँको
सुरक्षा तथा सूचना प्रणालीका महत्वपूर्ण आधारस्तम्भ रहेको बताएका थिए। वर्षाको समयमा हिलो र पानी तथा रातको समयमा अँध्यारोमा समेत खटिनुपर्ने भएकाले उपलब्ध गराइएका सामग्रीले काम गर्न सहज हुने उनीहरूले बताएका छन्।
चौकीदारहरूले आफ्नो कामको आवश्यकता बुझेर साइकल, टर्चलाइट र बर्साती उपलब्ध गराइएकोमा खुसी व्यक्त गर्दै वडाको कदम सराहनीय रहेको बताएका छन्। कार्यक्रममा वडा सचिव कादिर अन्सारी, स्थानीय समाजसेवी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।