पर्सा , साउन २८ –
प्रहरी नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको छ।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई प्रहरीले हिजो पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका श्रेष्ठलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत उपस्थित गराउन लागिएको प्रहरी स्रोतले जनाएको छ।
श्रेष्ठलाई केहीबेरमा सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौंमा लगिने तयारी भइरहेको छ। त्यसका लागि आवश्यक कागजात तयार गर्ने काम भइरहेको एक प्रहरी अधिकृतले बताए।
यसअघि आज बिहान प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था डटकमको कार्यालयमा समेत खानतलासी गरेको थियो।
श्रेष्ठको पक्राउ र जनआस्थाको कार्यालयमा गरिएको खानतलासीको नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटीलगायतका संस्थाले विरोध गरेका छन्। उनीहरूले श्रेष्ठलाई विनासर्त रिहा गर्न तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन्।
नेपाल पत्रकार महासंघले आज जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि प्रदर्शनसहित धर्नासमेत दिएको छ।