वीरगंज । नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रअन्तर्गत आर्थिक वर्ष २०८२–८३ को असार मसान्तसम्म ७ अर्ब ८१ करोड ४९ लाख रुपियाँँ विद्युत महसुल बक्यौता रहेको छ।
प्राधिकरणको वार्षिक प्रगति विवरणअनुसार बक्यौताको ठूलो हिस्सा बारा–पर्सा औद्योगिक करिडोरका ठूला उद्योगको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल हो। केन्द्रका प्रमुख इन्जिनियर माधव महतका अनुसार हुलास स्टिल, जगदम्बा स्टिल, अशोक स्टिल र हामा आइरनको मात्रै करिब ७ अर्ब २१ करोड रुपियाँँ बक्यौता रहेको छ। जगदम्बा स्टिलको मात्रै १ अर्ब ६० करोड रुपियाँँ बक्यौता छ।
केन्द्रका अनुसार उद्योगहरूले गत वर्षको मंसिरदेखि डेडिकेटेड तथा ट्रंक लाइनको किस्ता बुझाउन छाडेका छन। बक्यौता असुलीका कारण कुल महसुल असुली शतप्रतिशत हुन नसकेको प्राधिकरणले जनाएको छ।
यद्यपि, सिमरा वितरण केन्द्रले आर्थिक वर्ष २०८२–८३ मा ५ अर्ब १९ करोड रुपियाँँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षको ४ अर्ब ४२ करोड रुपियाँँको तुलनामा राजस्व ७७ करोड १० लाख रुपियाँँले बढेको हो।
गत वर्ष केन्द्रमा ८८० नयाँ ग्राहक थपिएका छन। मिटर अभावका कारण अपेक्षाअनुसार नयाँ ग्राहक थप्न नसकिएको प्रमुख महतले बताए। विद्युत लाइन काटेर ११ करोड ६० लाख रुपियाँँ बक्यौता असुल गरिएको केन्द्रले जनाएको छ।
सिमरा वितरण केन्द्रअन्तर्गत विद्युत चुहावट २ दशमलव ०६ प्रतिशतमा सीमित रहेको छ। विद्युत बिक्रीसमेत बढेर आर्थिक वर्ष २०८२र८३ मा ६६ करोड ७४ लाख युनिट पुगेको छ। अघिल्लो वर्ष ५७ करोड ३९ लाख युनिट विद्युत बिक्री भएको थियो।
केन्द्रले विद्युत आपूर्ति सुधार तथा चुहावट नियन्त्रणका लागि ११ केभी लाइनको मर्मतसम्भार गर्नुका साथै पिलुवा सबस्टेसनदेखि औराहासम्म विशेष आर्थिक क्षेत्र (सेज) का लागि ३३ केभी लाइन सञ्चालनमा ल्याएको जनाएको छ।