वीरगंज, ३१ साउन । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नम्बर ४ का २४ वर्षीय सम्साद देवान र बिन्दवासनी गाउँपालिका वडा नम्बर ५ का २२ वर्षीय सनप्राज शेख रहेका छन् ।
आइतवार भारतको रक्सौलबाट वीरगंज आउँदै गरेको नम्बर प्लेटमा अनटेष्ट लेखिएको मोटरसाइकललाई लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १५ स्थित सडकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त मोटरसाइकलमा सवार ती दुवै जनाको साथबाट लागू औषध ब्राउन सुगर ५०.७ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
ब्राउन सुगर र उक्त मोटरसाइकलसहित नियन्त्रणमा लिइएका ती दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी गराएका छन् ।