बारा, ७ भदौ – बाराको कोल्हवीमा घरको छतबाट लडेर एक ३ वर्षीय बालक गम्भीर घाइते भएका छन्। खेलिरहेको अवस्थामा पक्की घरको छतबाट लडेर बालकको टाउको र छातीमा गम्भीर चोट लागेको हो।
भदौ ७ गते साँझ अन्दाजी १७:०० बजेको समयमा रौतहटको यमुनामाई गाउँपालिका वडा नं. ४ गोठ टोल घर भई हाल बाराको कोल्हवी नगरपालिका वडा नं. १ कोल्हवी बजारस्थित इन्द्र प्रसाद पोखरेलको घरमा डेरा गरी बस्ने सशी ठाकुरका ३ वर्षीय छोरा दिव्यांश ठाकुर एक तले पक्की घरको छतबाट खेल्ने क्रममा अचानक खसेका थिए।
दुर्घटना पश्चात् घाइते बालकलाई तत्काल स्थानीय जननायक अस्पताल कोल्हवी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई एलएस न्युरो हस्पिटल परवानिपुर, बारा रिफर गरिएको थियो। हाल उनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर (बेहोस) रहेको इलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ।
घटनाको बारेमा सोही अस्पतालमा कार्यरत प्रहरी कर्मचारीमार्फत साँझ २०:०० बजे इलाका प्रहरी कार्यालय कोल्हवीमा जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) शम्भू प्रसाद यादवको कमाण्डमा ५ जनाको टोली घटनास्थल तथा अस्पतालमा खटिगई थप अनुसन्धान तथा बुझ्ने कार्य गरिरहेको छ।