वीरगंज , भदौ ४ —
परवानीपुर गाउँपालिकाका बासिन्दाले अब एलएस अस्पताल एन्ड मेडिकल कलेज रिसर्च सेन्टरमा विभिन्न स्वास्थ्य सेवा सहुलियतमा पाउने भएका छन्। यसका लागि गाउँपालिका र अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार गाउँपालिकाका नागरिकले ओपीडी परामर्श, अस्पताल भर्ना तथा उपचार र फार्मेसी सेवामा छुट पाउनेछन्। ओपीडी परामर्शका लागि १ सय रुपैयाँ शुल्क तोकिएको छ भने इम्प्लान्टबाहेक अस्पताल भर्ना तथा उपचारको बिलमा २० प्रतिशत छुट दिइनेछ।
त्यस्तै, इम्प्लान्टबाहेक फार्मेसीका सामग्रीमा १० प्रतिशत छुट, निःशुल्क स्वास्थ्य शिविर तथा विशेष स्वास्थ्य प्याकेजसमेत सञ्चालन गरिनेछ।
सम्झौतामा एलएस अस्पतालका होस्पिटल डाइरेक्टर डा. अर्जुन पटेल र गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मनिष मिश्रलगायतको सहभागिता थियो।
गाउँपालिका अध्यक्ष कुर्मीले सम्झौताले आर्थिक रूपमा कमजोर नागरिकलाई उपचारमा सहजता पुग्ने बताए। गाउँपालिका र अस्पतालको सहकार्यमा स्थानीयस्तरमा स्वास्थ्य शिविर तथा अन्य स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।