वीरगंज , भदौ ५ –
तीन वर्षीया गरिमा चौधरीको मृत्युको घटनालाई लिएर आन्दोलनरत पक्ष र जिल्ला सुरक्षा समितिबीच पाँचबुँदे सहमति भए पनि मृतकका परिवारले सहमति अस्वीकार गरेका छन्। परिवारले आफूहरूसँग छलफल नगरी सहमति गरिएको भन्दै विरोध जनाएका छन्।
भदौ ४ गते सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा मृतकका अभिभावक, आफन्त, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा जिल्ला सुरक्षा समितिबीच भएको छलफलमा पाँचबुँदे सहमति भएको थियो।
सहमतिमा पीडित परिवारलाई उचित राहत तथा रोजगारीका लागि गृह मन्त्रालयसमक्ष सिफारिस र पहल गर्ने, घटनामा संलग्न दोषी थप देखिए कानुनअनुसार कडा कारबाही अघि बढाउने तथा जिल्लाको सुरक्षा अवस्थाको पुनरावलोकन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउने उल्लेख छ।
त्यस्तै, घटनाका समयमा इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रही लापरवाही गरेको देखिएका सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्ने माग पूरा भइसकेको जनाइएको छ। सहमतिपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णयसमेत गरिएको थियो।
तर मृतकका परिवारले भने उक्त सहमति आफूहरूलाई मान्य नभएको बताएका छन्। परिवारले मुख्य माग सम्बोधन नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका छन्।
परिवार तथा स्थानीयवासीले जीतपुरसिमरा क्षेत्रसँगै वीरगंज–पथलैया सडकखण्डमा सवारीसाधन सञ्चालनमा अवरोध गर्दै प्रदर्शन गरिरहेका छन्। सडकमा सवारी आवागमन बन्द हुँदा यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।
गरिमा चौधरीको मृत्युको घटनामा प्रहरीले समयमै खोजी तथा अनुसन्धान नगरेको भन्दै परिवार र स्थानीयवासीले सुरक्षाकर्मीको लापरवाहीमाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूले घटनामा दोषी तथा लापरवाही गर्ने सबैमाथि कडा कारबाही हुनुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन्।