जनकपुरधाम,असोज १३ । प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेकाे छ । प्रदेश सरकारले साइकल खरिदमा व्यापक अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेको हो ।
उजुरीको सम्बन्धमा स्थलगत रुपमा छानविनका लागि अख्तियारको टोली मन्त्रिपरिषद्को कार्यालयमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका हुन्।
साइकल खरिदमा प्रदेश सरकारले व्यापक अनियमितता गरिरहेको समाचारहरू पटकपटक सञ्चार माध्यमहरूमा आइरहेका छन् । 'बेटी पढाऊ बेटी बचाऊ' अभियान अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्राहरूलाई प्रदेश सरकारले वितरण गर्दै आइरहेको छ । स्रोतका अनुसार अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयको 'बेटी पढाऊ बेटी बचाऊ' अभियानसँग सम्बन्धित फाइलहरू नियन्त्रणमा लिएका छन् ।
यो अभियान मुख्यमन्त्री कार्यालय अन्तर्गत सञ्चालित रहेको छ । अहिलेसम्मको अवस्थामा सातवटै प्रदेश मध्ये प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारले पहिलोपटक छापा हानेको हो । यसअघि सामाजिक विकास मन्त्रालयमा पनि अख्तियारले छापामारी गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्