स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

कर्म खोज्दै धरान : ‘पत्रकार ? ! यो पनि काम हो र ?

SHARE:

ठूलो भएपछि तँ के बन्छस् ? बाल्यकालमा सबैलाई झैं मलाई पनि यस्तो प्रश्न सोधिन्थ्यो । कहिले मलाई गाउँ-ठाउँमा फटाहा, जड्याहा सबैलाई तह लगाउने पुलिस हुन मन लाग्थ्यो । कहिले ठूला-ठूला बस-ट्रक गुडाउने चालकहरू देखेर ‘गुरुजी’ हुन मन लाग्थ्यो । आकाशमा उडेको हवाईजहाज देख्दा पाइलट, स्कूलमा शिक्षकको शान देख्दा शिक्षक । पछि फिल्म हेर्ने लत लागेपछि हिरो हुन पाए हुन्थ्यो भन्ने मनमा आउँथ्यो ।

मेरा बा (बुबा) दानबहादुर श्रेष्ठ गाविसबाट ठेक्का लिएर मोरङको डाँस खोलाको ढुङ्गा-गिटी निकासी कर उठाउने ठेकेदार थिए । उनको काम थियो, खोलामा आएका सबै ट्रकलाई पुर्जी काटेर पैसा लिने । कहिलेकाहीं खोलामा गाडी कुरेर बुबाले काटेको पुर्जी चालकलाई दिएर पैसा लिने काम मैले पनि गर्नुपथ्र्याे । ठेकेदारसँगै गाउँमा सबैले कुरा सुन्ने र स-साना झगडाको छिनोफानो पनि गरिदिने बाको शान-मान देख्दा मलाई बुबा झैं बन्न मन लाग्थ्यो । सप्तरङ्गी इन्द्रधनुषी सपना थिए, मेरा आँखामा ।

मोरङको साविकको शनिश्चरे-१ स्थित सानो गाउँ जिरीखिम्ती पूर्व-पश्चिम महेन्द्र राजमार्गसँगै जोडिए पनि यहाँ सवारी साधन भने रोकिंदैनथे । गाउँमा निम्नमाध्यमिक विद्यालय पनि थिएन । गाउँलेका लागि किनमेलको बजार र बालबालिकाका लागि पढ्न नजिकैको पथरी बजार हिंडेरै पुग्नुपथ्र्याे । पथरीको विद्यालयसम्म पुग्न करीब एक घण्टा टाढा भएकोले होला त्यहाँको प्राथमिक विद्यालय टेक्न पाइनँ । बुबाले घरैमा एक जना शिक्षक राखिदिएका थिए, जसले दुई/तीन वर्ष हाम्रै घर-आँगनमा म, मेरा दाइ-दिदी र गाउँका केही बालबालिकालाई अक्षर चिनाए । गुन्द्रीमा बसेर कालोपाटीमा लेखी कखरा पढेर हुर्केको भन्दा आज आनन्द महसूस हुन्छ ।

तीन वर्षपछि बुबाकै सक्रियतामा गाउँमै कक्षा ३ सम्म पढाइ हुने प्राथमिक विद्यालय खुल्यो । गाउँमा सबैले ‘कान्छाले सबै पुस्तक पढ्न सक्छ, पथरी स्कूलमा कक्षा ४ मा नाम लेखिदिए हुन्छ’ भनेकाले म बा, मा (आमा) को करले पथरी पनि पुगें । कक्षा ४ मा एक दिनभर सबै पिरियडमा पनि बसे । तर, टाढा हिंडेर जानुपर्ने र एकै चोटि धेरै विद्यार्थीको भीड देखेर अत्यास लाग्यो । भोलिपल्टबाट गइनँ । गाउँकै स्कूलमा कक्षा ३ मा भर्ना भएँ ।

एक वर्षपछि त पढाइका लागि पथरीको त्यही स्कूलमा कक्षा ४ मा भर्ना भएँ । यतिबेला मसँगै पढ्ने र गाउँबाट जाने साथी धेरै थिए ।

स्कूल पुग्न पथरी बजारको बाटो हुँदै जानुपथ्र्यो । जाँदा-आउँदा बजार घुम्दै, पसलहरू हेर्दै हिंड्दा एक दिन पत्रिका पसलमा मेरो आँखा पर्‍यो । पसलमा धेरै पत्र-पत्रिका थिए । तर, मेरो ध्यान बालपत्रिका ‘मुना’मा पर्‍यो । पसलेलाई सोधेको पत्रिका किन्न त पाँच रुपैयाँ लाग्ने रहेछ । स्कूल जाँदा आमा -चन्ऽमादेवी श्रेष्ठ) ले खाजा खान दिने १/२ रुपैयाँ जम्मा गरेर पहिलो पटक मुना किनेर पढ्दा अर्कै संसारमा पुगेको महसूस भयो ।

*** ***

एक दिन बाले महाभारत, रामायण, गीता लगायत धर्म-ग्रन्थका ठेली पढ्न दिए । शुरूमा त नबुझे पनि पढेर सुनाएँ । मज्जाले पढेको देखेर बा, मा दंग । यसको असर भोलिपल्टैदेखि स्कूलबाट आएर एक घण्टा महाभारत-रामायण पढ्ने र बुबा, उहाँका दौंतरीहरूलाई सुनाउने नयाँ नियम लागू भयो । घरको भुईंतलामा १० जनासम्म अटाउने बुबाको कचहरी बस्ने ठाउँ थियो । जहाँ पलेंटी कसेर फुच्चे वाचकबाट कथा सुन्न विस्तारै सबै उमेरका श्रोता भेला हुन थालेका थिए । धर्मग्रन्थका कथा, श्लोक सुनेर सबैले प्रशंसा गर्दा मेरो मन फुरुङ्ग हुन्थ्यो । यसरी सबै पुस्तक एकपटक पढिसके पनि सुनाउनुपर्ने बाध्यताले पछिपछि दोहोर्‍याइरहनुपर्ने भयो । कुनै दिन दिक्क लागेर पढ्दिनँ भन्दा बाको झापड खाने अवस्था पनि आयो ।

बाको यो नियमले ममा पढ्ने लत लाग्यो । कक्षा ४ पुग्दासम्म मैले अरूका ९/१० कक्षाका पुस्तक पढिसकेको थिएँ । ३/४ कक्षामा हुँदै पढेको ठूला कक्षाका नेपाली पुस्तकका कथाहरू दाउरे र बन्चरो, झगडाको ओखती, गोनु झा र चोर, राजकुमार दिक्पालका कथाहरूले दिमागमा अमिट छाप छाडेका थिए । राजकुमार दिक्पालको कथा पढ्दा मलाई स्फटिकको खम्बा फोडी राक्षसलाई मारेर राजकुमारीलाई बचाउने तिनै राजकुमार जस्तो पात्र बन्न पाए हुन्थ्यो भन्ने दिमागमा धेरै पछिसम्म आइरहन्थ्यो ।

पढ्ने बानी यसरी बढ्यो कि बाटो, पसलमा जे कागज भेटे पनि पढ्ने । पसलमा दाल-चिनी लगायतका सामान पोका पारेर दिने नेपाली-हिन्दी पत्रिकाका पानाहरू पनि पढ्ने । मुनाबाट शुरू भएको पढ्ने प्रक्रिया अब युवामञ्च, गोरखापत्रको शनिवासरीय परिशिष्टांक लगायत जे भटियो त्यही पढ्ने बानी भयो । नेपाली-हिन्दी फिल्म हेर्ने बानी भएपछि कामना, मनोकामना, रोशनीदेखि मायापुरी, फिल्मफेयर लगायत कार्टुनका अनेकांै हिन्दी कमिक्सहरूले घरका कोठा भरिन थाले ।

यो समय म धेरै रेडियो पनि सुन्न थालिसकेको थिएँ । रेडियो नेपालमा गीतहरू फर्माइस गरेर आफ्नो नाम सुन्न पाउँदा मक्ख पर्ने भइसकेको थिएँ ।

बाको कचहरीमा भेला भएका बुढा-पाकालाई नियमित पौराणिक कथा पढेर सुनाउने काम जारी नै थियो । फुर्सद निकालेर गाउँघरका साथीभाई, बाल बालिका भेला गरेर पढेका पुस्तक र पत्रिकाका रोचक जानकारी, कथा र घटनासँगै हेरेका नयाँ फिल्महरुको कहानी सुनाउँने क्रम थपिएको थियो । हरेक दिन जसो ‘भाई, आज के पढिस् ? कुन फिल्म हेरिस्’ भन्दै सबै उमेरका सोध्न आइपुग्थे ।

*** ***

सधैं पत्र-पत्रिका किनेर पढ्न र हलमा फिल्म हेर्न मसँग पैसा हुन्थेन । बा कुनै बेलाका भोजपुरको दावा-दिंगलाका नामी व्यापारी र मधेशको जमीनदार भए पनि मैले थाहा पाउँदासम्म परिवारको आर्थिक अवस्था सामान्य थियो ।

डाँसखोलामा आएको बाढीले खान पुग्ने खेती बगर भएपछि हाम्रो परिवारको आर्थिक स्रोत बुबाको ठेक्का र आमाको सानो-तिनो खुद्रे व्यापार मात्र थियो । जसले हात-मुख जोर्नै मात्र ठिक्क हुन्थ्यो । बा गाउँमा बस स्टप राख्ने, स्कूल, मन्दिर बनाउने जस्ता काम्का लागि माथिल्लो निकायहरुमा ताकेता गर्न जाने र अरूलाई परेको समस्याको छिनोफानोतिरै व्यस्त हुन्थे । खोलाको कमाइको ठूलो हिस्सा गाविसलाई नै टेण्डर पार्दा बुझाउनुपर्ने भएकोले आम्दानी धेरै हुन्नथ्यो । त्यसमाथि वर्षायाममा खोलामा भेल आएर बाको ठेकेदारीको आय शून्य हुँदा मालाई घरको गर्जो टार्न हम्मे पर्थ्यो ।

कक्षा ८ मा पुग्दासम्म आमाबाट खाजा खान हरेक दिन रु.५ पाउन थालिसकेको थिएँ । त्यही पैसा नै हुन्थ्यो, मन परेको फिल्म हेर्ने र पत्रिका किन्ने स्रोत । तर, त्यतिले कहाँ पुग्नु ! यस्तो बेला पैसा जुटाउन कहिले लंगुरबुर्जा खेलाउने, कहिले छुट्टीमा साथीहरूसँग मिलेर डाँसखोलामा ढुङ्गा गिटी जम्मा गरेर ट्रकलाई बेचेर हामी साथीहरू पैसा बाँड्थ्यौं । अलिपछि आमाले दिएको र यसरी जम्मा गरेको पैसाले एउटा ३६ वटा तस्वीर खिच्ने फ्याट फ्याटे रिलवाला क्यामरा किनेपछि अरुको फोटो खिचेर पनि खर्च जुटाउन थालियो ।
पथरी, उर्लाबारी, दमकसम्मका हलहरूमा चलेका प्रायः सबै फिल्म हेर्ने चाहनाका कारण त्यो बेला मैले अर्को काम पनि गरें । त्यो थियो, फिल्म हलका प्रचार सामग्री, पोस्टर गाउँमा फिल्म चलुञ्जेलसम्मका लागि सुरक्षित राखिदिने अनि त्यसवापत सित्तैंमा फिल्म हेर्न पाइने कुपन पाउने । यसबाट पनि धेरै फिल्म हेरियो । हलमा फिल्म परिवर्तन भएपछि घाम-पानीबाट जोगाएर राखेको त्यही पोष्टर बेचेको पैसाले अर्को ठाउँको फिल्म हेर्न पनि भ्याइयो ।

*** ***

‘पत्रकार ? ! यो पनि काम हो र ? कति कमाइ हुन्छ ? लेखेर पैसा पाइन्छ ? खान पुग्छ र ?’ सबै यस्तै प्रश्न गर्थे । तर, मसँग यसको कुनै जवाफ थिएन

त्यहीबेला कामना प्रकाशन समूहबाट साधना मासिक पत्रिका निस्कियो । जसले शुरुआतबाटै मेरो ध्यान खिच्यो । लामा-लामा खोज रिपोर्टिङ, देश-विदेशका अद्भुत कथा पढ्दा लाग्थ्यो, यस्तो कसरी लेख्न सकेका होलान् ? कसरी खोजेका होलान् ? के म पनि यस्तो लेख्न सकुँला ?

२०४९ सालतिरको कुरा हो, त्यो बेला म कक्षा ९ मा पढ्थें । एकदिन पसलबाट सामान पोका पारेर आएको रद्दी कागजमा आँखा पर्‍यो । पंजाब केसरी नामक हिन्दी पत्रिका थियो, त्यो । त्यसमा विश्व प्रसिद्ध फूटबल खेलाडी पेलेको जीवनी छापिएको थियो । पत्र-पत्रिकामा हिन्दी-अंग्रेजीबाट अनुवाद गरेर नेपालीमा छापिएका लेखहरू पढिरहेकोले मलाई पनि पेलेको जीवनी हिन्दीबाट नेपालीमा अनुवाद गर्ने सोच आयो । हिन्दी फिल्म हेरेको र पत्रिका पढेको भरमा पेलेको कथा नेपालीमा लेखेर तस्वीरहरू पंजाब केसरीकै काटें । र पुछारमा आफ्नो नाम र स्रोत साभार उल्लेख गरेर माधुरी नामक नयाँ फिल्मी पत्रिकामा पठाएँ । त्यो लगत्तै ‘फूटबलका जादूगर पेले’ शीर्षकमा नाम सहित छापिएर आयो । पहिलो पटक पत्रिकामा आफूले लेखेको सामग्री प्रकाशित भएको त्यो पत्रिकामा छापिएको आफ्नो नाम मैले कैयौं पटक पढें । जीवनकै पहिलो अनौठो खुशीसँग साक्षात्कार भइयो ।

धरानसँगको साइनो

५ भदौ २०४५, बिहान झिसमिसेमै पूरै घर पीङ जस्तै मच्चियो । निद्रामै खाटबाट हुत्तिएर भित्तामा पुगियो । के भएको हो पत्तो थिएन । एक्कासी गाउँभर हल्ली-खल्ली भयो ‘भुइँचालो, आयो-भुइँचालो आयो…’ भन्दै गाउँले आँगनतिर निस्किए । बा, आमासँगै हामी भुरा-भुरी पनि बाहिर पुगिसकेका थियौं । सधैं पूजा-पाठ, भजन-कीर्तन गर्ने मेरा बा ‘हरे राम, हरे कृष्ण’ भन्दै सबैलाई रामनाम जप्न लगाइरहेका थिए । आँगनबाट हेर्दा गाउँभरिको हाम्रो अग्लो काठेघर बाङ्गो देखिएको थियो । केहीबेरपछि बिहानीपख रेडियो नेपालले फुक्यो ‘उदयपुर केन्ऽबिन्दु भएर आएको भूकम्पले भक्तपुर अनि पूर्वी नेपाल र त्यसमा पनि धरान नगरमा ठूलो जनधनको क्षति गरेको छ ।’ रेडियोले धरानको नाम फुक्नासाथ बाका कान ठाडा भए । ‘लौ बर्वाद भयो धरान त ध्वस्तै भयो भन्छ त ।’ गाउँमा टेलिफोनको सुविधा थिएन । केहीछिन पछि नै आमालाई ‘लौ बूढी म धरानतिर हिंडे’ भन्दै बा घरबाट निस्किए ।

भूकम्पले धरान तहसनहस बनाएको खबरले बा यसरी अत्तालिनुको कारण थियो । हाम्रो परिवारका धेरै सदस्य धरानमै बसोवास गर्थे । बाका अरू छोरा-छोरी, भाइ र आफन्तहरूको ठूलो परिवार धरानमा थियो । बा नफर्किन्जेलसम्म आमा पनि चिन्तित । साँझतिर बा फर्किएर भने, ‘भगवानको कृपाले हाम्रो सन्तानका कसैलाई पनि केही भएन । धरान बजार त भूकम्पले भताभुङ्ग पारेछ । मान्छे पनि धेरै मरिरहेको देखेर आएँ ।’ १९९० सालको भूकम्प देखे-भोगेका बा सधैं हामीलाई भूकम्पको अनुभव सुनाइ रहन्थे । आज हामी आफैंले भोगिरहेका थियौं ।

*** ***

२०५१ सालको अन्तिमतिर, बल्लतल्ल एसएलसी परीक्षा सकियो । कहिले परीक्षा सकिन्छ र धरान पुगौं भइरहेको ज्यान धेरै दिन गाउँमा टिकेन । अरू बेला पनि लामो छुट्टी र चाडबाड आउनासाथ धरान पुग्ने मेरा लागि एसएलसी परीक्षा सकिनु ‘फलामे पर्खाल’ तोडेर फुक्काफाल भए सरह थियो ।

२०१९ सालतिर भोजपुरबाट झरेका बुबाले शुरुआतको कर्म थलो बनाएका थिए, धरानलाई । त्यसबेला हालको भानुचोकमा किरानापसल र अलि तलको बाघमहल पछाडिको ठूलो खाली चौर नै किनेर सम्पत्ति जोडे पनि बुबालाई धरानले आकर्षण गर्न सकेन । केही वर्ष धरान बसेर कौडीको दाममा जग्गा बेचेर चारकोसे झाडी छिचोलेर मधेश झरेको कथा उहाँ सुनाइरहनुहुन्थ्यो । मोरङको बोराबाँधमा जंगल फडानी गरेर बस्ती बसाउँदै, जग्गा बाँड्दै एक ठाउँबाट अर्को ठाउँ चहार्दै बेलबारी, कानेपोखरी, बयरबन हँुदै बुबा मोरङकै हालको पथरी-शनिश्चरे पुगेका थिए । तर विस्तारै उनका सन्तानहरू भने एकपछि अर्को गर्दै मधेश छाडेर त्यही बुबाले छाडेको धरानतिर बसाइँ सर्दै गए । जहाँ एसएलसीपछि बुबा-आमालाई गाउँमै छाडेर पखेटा पलाएको चरा जस्तै म पनि त्यही धरान पुगिरहेको थिएँ ।

*** ***

२०५२ सालको शुरुआततिर धरान-९, पुतलीलाइनको एक कम्प्युटर प्रशिक्षण केन्ऽमा साँझपख म कम्प्युटर सिक्न जान्थें । कम्प्युटर सेन्टर मेरा भान्जा उमेशले साथी जीवन भट्टराईसँग मिलेर सञ्चालन गरेका थिए । एक दिन साँझपख एक जना राई-लिम्बू जस्तो देखिने गोरो, दुब्लो युवक त्यही कम्प्युटर सेन्टरको सोफामा बसेर सादा कागजमा केही लेखिरहेको देखें । उनले करीब दुई घण्टासम्म डायरी पल्टाउँदै हेर्दै लेखिरहे । के लेखेका होलान् ? ममा कौतूहल बढिरहेको थियो । म घरी-घरी उनले लेखेको चियाउँथें । उनी केही असजिलो मानेर मलाई हेर्थे र फेरि लेख्न थाल्थे । पूरै लेखिसकेपछि उनले पहिलो पेजको सबै भन्दामाथि लेखको शीर्षक लेखे, अनि त्यसपछि आफ्नो नाम । त्यो नाम थियो- राजकुमार दिक्पाल ।

अरे, तपाईं धनकुटा ४, देब्रेबासको राजकुमार दिक्पाल हो ?

जनमञ्च लगायत विभिन्न पत्रिकामा लेख्ने राजकुमार दिक्पाल तपाईं नै हो ?

मेरो एकपछि अर्को प्रश्नले उनी अक्क न बक्क परे । भने ‘हो म त्यही राजकुमार दिक्पाल हो ।’

त्यो दिन मलाई सानोमा कथामा पढेको राजकुमार दिक्पाललाई नै भेटे जस्तो खुशी लागिरहेको थियो । भोलिपल्टदेखि त्यो कम्प्युटर सेन्टरमा मैले उनै ‘दिक्पाल दाइ’लाई र दाइले मलाई खोज्ने, पर्खने, भेट्ने क्रम बढ्यो । कम्प्युटरसँगै लेखन, साहित्य, पत्रकारिताको गफगाफ र सिक्ने थलो बन्यो । धरान झरेर पत्रकारिता गरिरहेका राजकुमार दिक्पाल र पथरी-शनिश्चरेबाट धरान पुगेर आफन्तकोमा बसेर एसएलसीपछि के गर्ने भन्नेमै अन्योलमा रहेको मेरो भेट त्यसैत्यसै बाक्लिन थाल्यो ।

‘तिमीले अहिले केही लेखिरहेका छौ ? कुनै विषय छ लेख्ने ? लेख्नु यहाँको स्थानीय पत्रिकामा छापौंला’ केही दिनपछि दाइले भन्नुभयो । तर के लेख्ने, कसरी लेख्ने ? मैले पूर्वतिर विद्यार्थी र बस कर्मचारीबीच गाडी भाडाको निहुँमा सधैं झगडा, कुटपिट र चक्काजाम भइरहने घटना सुनाएँ र पछिल्लो ५/६ महीनामा कति पटक कस्तो घटना भयो त्यो जानकारी भएको बताएँ । त्यो सुनेपछि २/३ पेज त्यही लेखेर ल्याउने कुरा भयो ।

दुई दिनपछि बल्लतल्ल लेखेको पाना देखाएपछि दाइले आफू कार्यकारी सम्पादक रहेको चतरालाइनस्थित सयपत्री साप्ताहिकको कार्यालयमा लगेर सम्पादक/प्रकाशक विमल शाक्यलाई देखाए । शाक्यले सरसर्ती हेरे अनि ‘यो त छाप्ने खालको भएन’ भनेर ‘रिजेक्ट’ गरिदिए । डस्टविनमा फ्याँकिसकेको पेज टिपेर मैले भनें ‘दाइ के पुगेको छैन भन्नुस्, म फेरि थपेर लेखेर ल्याउँछु ।’ त्यसपछि समाचार-रिपोर्टमा हुनुपर्ने कुराहरूको टिपोट गरें । फेरि लेखेर दिक्पाल दाइलाई देखाएँ र थप सुधारसहित अनि अर्को दिन विमल शाक्यलाई लगेर बुझाएँ । रमाइलो कुरा त त्यो समाचार छापियो मात्र होइन, आधा पेज नै छापियो ।

राजकुमार दिक्पाललाई भेटेको केही समयमै म बाइलाइनवाला बनें । त्यसपछि त झनै संगत बाक्लियो । दाइबाट दिनहुँ धेरै कुरा सिकिरहेको हुन्थें । हातले एक-एक अक्षर कम्पोज गरेर लेटर प्रेसमा छापिने सयपत्री साप्ताहिकमा हरेक साता दुई/तीन वटा समाचार र फिचर छापिन थालिसकेका थिए ।

त्यसको केही महीनापछि दिक्पाल दाइले मलाई दुई वटा समाचार लेख्न लगाए । अरू दुई वटा चाहिं आफैंले लेखेर मलाई सार्न लगाए । अर्को पेजमा एउटा पत्र लेखे र खाम बन्दी गरेर कुरियर गर्न लगाए । पत्रसहित पठाएको त्यही चार वटा समाचार त्यही साताको शुक्रबार प्रतिपक्ष साप्ताहिकमा प्रकाशित भयो । यसरी म राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरको पत्रिकाको संवाददाता भएँ । अर्थात् ‘पत्रकार’ बनें । अब आफन्त, साथीहरूले ‘त के बन्छस् ?’ भन्दा ‘म पत्रकार बन्छु’ भन्न थालिसकेको थिएँ ।

‘पत्रकार ?! यो पनि काम हो र ? कति कमाइ हुन्छ ? लेखेर पैसा पाइन्छ ? खान पुग्छ र ?’ सबै यस्तै प्रश्न गर्थे । तर, मसँग यसको कुनै जवाफ थिएन । किनकि मैले लेखेर पारिश्रमिक पाउन थालेकै थिएन । नेपाली पत्रकारिता आज जस्तो व्यावसायिक पनि थिएन ।

म त पत्रिकामा आफ्नै नाम पढेर सन्तुष्ट थिएँ । खुशी थिएँ । यो मैले रोजेको बाटो थियो । त्यो बेला मलाई थाहा थिएन, मैले रोजेको सपनासँगै अनेकौं आरोह-अवरोह, दुःख, हण्डरले पनि सँगै पर्खिरहेका हुनेछन् !



https://ift.tt/3kZtv5R

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: कर्म खोज्दै धरान : ‘पत्रकार ? ! यो पनि काम हो र ?
कर्म खोज्दै धरान : ‘पत्रकार ? ! यो पनि काम हो र ?
https://www.onlinekhabar.com/wp-content/uploads/2021/10/dambar-krishna-shrestha-555.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/10/blog-post_25.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/10/blog-post_25.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content