![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/1633236037531-1024x768.jpg)
जनकपुरधाम । प्रदेश नंं २ को विभिन्न जिल्लाहरूमा कोरोना महामारीको सङ्ख्यामा कमी आएपछि सर्वसाधारणले मास्क लगाउन छाडेपछि कोरोनाको थप जोखिम बढेको भन्दै तपाईँको मास्क खोइ ? अभियानमा तीनै तहका सरकार सक्रिय भएका छन् ।
युनिसेफको सहयोगमा तीनै तहका सरकार मिलेर तपाईँको मास्क खोइ ? अभियानको प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुरधाममा आजबाट सुरु भएको हो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/1633236037564-1024x768.jpg)
चाडपर्वमा सबैतिर भिडभाड बढेको तर मास्क लगाउनेको सङ्ख्या घटेको भन्दै कोरोना सहितको सङ्क्रामक रोगबाट जोगिने उत्तम विकल्प नै मास्क लगाउनु भएकाले विशेष अभियान सुरु गरेको प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो ।
औद्योगिक नगरी विरगंजबाट सुरु भएको अभियानको निरन्तरता दिँदै आज जनकपुरधाममा र मङ्गलवार राजविराजमा सुरुवात गर्ने तयारीमा तीनै तहका सरकारहरू एक साथ जुटेको निर्देशक झाले जानकारी दिनुभयो ।
जनकपुरधामको सबै चोकहरूमा विभिन्न संस्थाहरूको सहयोग एवं सहकार्यमा मास्क नलगाउनेलाई मास्क दिएर अनिवार्य रुपमा लगाउनका लागि उत्प्रेरित गर्ने काम भइरहेको मास्क अभियानमा सक्रिय लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनुभयो ।
आफूहरूको अभियान निरन्तर रहने बताउनुहुँदै अध्यक्ष ठाकुरले मास्क लगाउँदा कोरोना सहितका अन्य रोगहरूबाट जोगिने भएकाले संस्थाका स्वयंसेवीहरू विभिन्न चौक चौकमा मास्क वितरण गरिरहेको बताउनुभयो ।
अभियानमा नेपाल रेडक्रस, नेपाल स्काउट जस्ता सामाजिक सङ्घ संस्थाहरू पनि सक्रिय भएका छन् ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/1633236037564-1024x768.jpg)
नेपाल प्रहरीको ६६औँ स्थापना दिवसलाई पनि मास्क अभियानमा केन्द्रित गरेर सबै प्रहरी युनिटबाट कार्यक्रमहरू गरिरहेको प्रदेश नंं २ का प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकारले जानकारी दिनुभयो ।
नेपाल प्रहरीले तपाईँको मास्क खोइ ? अभियान पहिलादेखि नै सञ्चालन गरेको उहाँले बताउनुभयो ।
तीनै तहको सरकारी निकायबाट सरकारी कामका लागि आउने सेवाग्राहीहरूलाई अनिवार्य रुपमा नै मास्क लगाउने गरी कडाइ गर्ने पक्षमा आफूहरू भएको बताउनुहुँदै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मास्क विना कुनै प्रकारको सेवा नदिने गरी कडाइ गर्न लागेको बताउनुभयो । पहिलो चरणमा चेतना मूलक कार्यक्रमहरू गरेको उहाँले बताउनुभयो ।
नेपाल भारतको सिमाना पनि खुल्ला भएको र चाडपर्वमा बाहिरबाट नेपालीहरू घर फर्किन लागेकाले कोरोनाको जोखिम भएकाले अनिवार्य रुपमा मास्क लगाउनका लागि पालिका स्तरमा तपाईँको मास्क खोइ ? अभियान चलाउने प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनुभयो ।
https://ift.tt/3Fe2TWD
प्रतिक्रिया लेख्नुहोस्