जनकपुरधाम । धनुषा र सिराहाको सीमानामा पर्ने कमला नदीमा कार्तिक पूर्णिमाका दिन लाग्ने मेला आज लागेको छ ।
आजको दिन स्नान, ध्यान तथा तप गर्दा विशेष फल प्राप्त हुने विश्वासले यहाँ भिड रहने गरेको छ ।
धनुषा तथा सिराहा जिल्लाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वा लगायतका घाटमा आज बिहानदेखि नै भक्तजनहरूको भिड रहेको छ ।
कार्तिक महिनाको पूर्णिमा तिथिमा कमला नदीमा स्नान, ध्यान तथा तप गर्नाले विशेष फल प्राप्त हुने भएकाले नेपाल भारतका लाखौँ व्यक्ति उपस्थित भएर स्नान गरिरहेका छन् । आजको दिन कमलामा तन्त्र मन्त्र साधनाका लागि निक्कै उपयोगी हुने जनविश्वास रहेको छ ।
खास गरेर कमला नदीमा स्नान, ध्यान तथा तप गर्नका लागि धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिराहा, सप्तरी, उदयपुर तथा सिन्धुली जिल्लाका भक्तजनहरू स्नान गर्नका लागि बिहीबार साँझदेखि नै भेला भएका थिए । यति मात्र नभएर भारतको विहारका विभिन्न भागबाट ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन् ।
कमला मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजको दिन नयाँ नयाँ धामी झाँक्री बन्ने सङ्कल्प गर्ने गरेका छन् । कमलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् ।
उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरूको कथन रहेको छ । प्रत्येक वर्ष लाग्ने कमलाको कार्तिक पूर्णिमा मेला गत वर्ष कोरोनाका कारणले प्रभावित बने पनि यस पटक कोरोनाका अवस्था सामान्य भएकाले भक्तजनहरूको अत्यधिक भिड लागेको छ ।
कमला नदीमा तटमा लागेको मेलामा हुने भिडलाई दृष्टिगत गरेर धनुषा तथा सिराहा जिल्लाबाट उल्लेख्य सङ्ख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिइएको छ ।
https://ift.tt/3HBggle
प्रतिक्रिया लेख्नुहोस्