बर्दिबास । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सबैको पहल आवश्यकता रहेको बताउनुभएको छ । युवाले बढ्दो सवारी दुर्घटना ज्यान गुमाइरहेको भन्दै उहाँले सडक दुर्घटना न्यूनीकरण गर्न सबै क्षेत्रको सहकार्य र पहल आवश्यक रहेको बताउनुभएको हो ।
महोत्तरीको बर्दिबासमा आयोजित स्लो ड्राइभ प्रतियोगितामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बर्दिबासबाट सीमा नाका पुगेर पछिल्लो समय लागूपदार्थ औषधी सेवन गर्न आउने जाने युवाहरू सङ्ख्या बढेको र त्यसले सडक दुर्घटना समेत परेर कयौँ युवाहरूले अकालमा ज्यान गुमाउनु परेको भन्दै उहाँले सबैको पहलमा बर्दिबासलाई लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्नबाट सबैले रोक्नुपर्ने बताउनुभयो ।
कोही एक जनाले मात्रै गरेर हुदैंन लागूपदार्थ सेवनकै कारण दैनिक जसो सडक दुर्घटना हुने गरेको र यस क्षेत्रका युवाहरूको अकालमै ज्यान गुमाउनुपरेको घटनाले विचलित बनाएको उहाँले बताउनुभयो । तीव्र गतिमा सवारी साधन चलाउने र दुर्घटनाको भागीदार बन्दा बर्दिबासमा नै अप्रिय घटनाहरू बढी रहेको उहाँको भनाइ थियो ।
स्लो ड्राइभ प्रतियोगितामा बर्दिबास नगरपालिकाका १४ का योगेश महतोले प्रथम, राजु खड्का दोस्रो र आशिष फूयाँलले तेस्रो स्थान हासिल गरेको आयोजकले जनाएको छ । स्लो ड्राइभ प्रतियोगितामा ७० जना सहभागी रहेको थियो ।
कार्यक्रममा सङ्कलन भएको बचत रकमबाट बर्दिबासमा केही दिन अघि मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका बर्दिबास नगरपालिका ३ का सोनु सिंहको उपचारको लागि सहयोग गर्ने बर्दिबास युथ क्लबका अध्यक्ष राजु दोङ्गले बताउनुभयो । घाइते सिंहको काठमाडौँमा उपचार भइरहेको छ भने सिंह सँगै मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका ३ गौरीडाँडा बस्ने वर्ष २६ वर्षीय सुरज तामाङको मृत्यु भएको थियो ।
बर्दिबास युथ क्लबले बिस्तारै चलाउनुस्, लामो जीवन जिउनुस् भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले तीन बर्ष देखि स्लो ड्राइभ प्रतियोगिता आयोजना गर्दै आएको छ । महोत्तरीमा तीन महिनामा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा १ सय १६ वटा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तै सो अवधिमा भएको सवारी दुर्घटनामा १ सय ६६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
https://ift.tt/3BGTd45
प्रतिक्रिया लेख्नुहोस्