![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/12/%E0%A4%AC%E0%A5%80%E0%A4%B0%E0%A4%97%E0%A4%82%E0%A4%9C%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%B0%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7-%E0%A4%96%E0%A5%8B%E0%A4%AA-%E0%A4%85%E0%A4%AD%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%A8-1024x768.jpg)
बीरगंज । पर्सामा सञ्चालित ६ दिने खोप अभियानमा १ लाख १८ हजार ७ सयभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।
कोरोना महामारीको दुवै लहरमा ‘हटस्पट’ बनेको पर्सामा योसँगै ४० प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।
विभिन्न चरणमा गरी जिल्लामा ४ लाख ५ हजार ९ सय ९९ डोज कोरोना खोप खपत भइसकेको छ ।
२ लाख ३१ हजार ५ सय ७ जनाले पहिलो डोज र १ लाख ७२ हजार ५ सय ९२ जनाले दोस्रो डोज खोप लगाएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
जिल्लामा खोप लगाउन सक्ने जनसङ्ख्या ४ लाख ४५ हजार ३ सय ६८ रहेको र हालसम्म ४०.६३ प्रतिशतको पहुँचमा पूर्ण खोप पुगेको छ । अझै २ लाख १३ हजार ८ सय ६१ जनाले खोप लगाउन बाँकी रहेको खोप अधिकृत जयमोद ठाकुरले बताउनुभयो ।
पर्सा जिल्लामा पछिल्लो पटक मङ्सिर २२–२७ सम्म खोप अभियान सञ्चालन गरिएको थियो ।
जसमा एचआइभी संक्रमित, देह व्यापारमा संलग्न महिला र तेस्रो लिङ्गीले पनि खोप लगाएको ठाकुरले बताउनुभयो ।
खोप अभियानमा ६० जना एचआइभी संक्रमित, देह व्यापारमा संलग्न १५ महिला र तेस्रो लिङ्गी १५ जनाले खोप लगाएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सुरुमा पहिचान खुल्ने डरले एचआइभी संक्रमित सार्वजनिक ठाउँमा कोरोना विरुद्धको खोप लगाउन हच्किएका थिए । पहिचान नखुल्ने आश्वस्त पारेपछि मात्रै उनीहरूलाई खोप अभियानमा समेट्न सकिएको ठाकुरले जानकारी दिनुभयो ।
६ दिने विशेष खोप अभियानअन्तर्गत उनीहरूलाई वीरगन्जको नयाँ बसपार्क र घण्टाघरमा खोप लगाउने व्यवस्था मिलाइएको थियो ।
विशेष खोप अभियानअन्तर्गत पर्सामा कूल १ लाख १८ हजार ७ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
तीमध्ये २४ हजार १ सय ८३ जनालाई कोभिसिल्ड खोप दिइएको थियो । उनीहरूमध्ये ६ सय ४१ जनाले पहिलो र २३ हजार ५ सय ४२ जनाले दोस्रो डोज खोप लिएका थिए ।
त्यसैगरी, ८२ हजार ६ सय ८३ जनाले भेरोसेल खोपको पहिलो डोज र ११ हजार ९ सय २२ जनाले दोस्रो डोज लिएका थिए ।
१२–१७ वर्ष उमेर समूहका २ हजार ५ सय ५३ बालबालिकाले पहिलो चरणको फाइजर खोप यसअघि नै लिइसकेकोमा उनीहरूलाई दोस्रो चरणको खोप बिहीबारबाट दिन सुरु गरिएको ठाकुरले बताउनुभयो ।
https://ift.tt/3E4aYvs
प्रतिक्रिया लेख्नुहोस्