पोखरिया । पर्साको पोखरिया नगरपालिकामा ईलाका प्रसाशन कार्यालय ,मालपोत तथा नापी शाखा र मतदाता नामावली दर्ता सम्बन्धी सरकारी कार्यालयहरु स्थापनाको माग गरिएको छ ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं ३ का क्षेत्रीय सभापति श्रीकिसुन चौहान को नेतृत्वमा विहीबार जिल्ला प्रसाशन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री र गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउंदै पोखरियामा पनि विभिन्न कार्यालयको शाखा स्थापना गर्न माग गरिएको हो । नागरिकता बनाउन, राजस्व सम्बन्धी कार्य गर्न, मालपोत तथा नापी सम्बन्धी कार्य गर्न, मतदाता नामावली दर्ता गर्ने लगायतको जनतासंग प्रत्यक्ष सरोकार राख्ने धेरै जसो कार्यहरु गर्न दिनहुं हजारौंको संख्यामा सर्वसाधारण जनता सरकारी कार्यालयको लागि वीरगञ्ज धाउनु पर्ने बाध्यताको अन्त्यको लागि पहल गर्न ज्ञापनपत्र बुझाइएको हो । नागरिकलाई सरल र सहज तरिकाले सेवा सुविधा प्रदान गर्नु पर्ने भएकोले समस्याको समाधान गर्न नेपाल सरकारले पर्सा जिल्लाको मध्य भागमा अवस्थित पोखरिया नगरपालिका, पोखरिया क्षेत्र लगायतका जनता सित प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयहरुको ईलाका वा उपशाखा कार्यालय अविलम्ब स्थापना गरी सो क्षेत्रका नागरिक प्रति न्याय गर्न माग अघि सारिएको नेकां नेता चौहानले बताए ।
प्रतिक्रिया लेख्नुहोस्