वीरगंज, १० वैशाख।
नेपाली काङग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत दलका महिला नेता तथा कार्यकर्ताहरुले वीरगंजमा शनिवार विरोध प्रदर्शन गर्दै स्थानीय तहको निर्वाचनमा महिलालाई कुनै पनि पदमा उम्मेदवार नबनाएकोमा विरोध गरेका छन् ।
घण्टाघरबाट शुरू भएको विरोध जुलुस नगरपरिक्रमा पछि पुन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएको थियो । "महिलाको सहभागीता सुनिश्चित गर, गठबन्धनको नाममा संविधान मिच्न पाइदैन" नारा लगाउँदै कोण सभामा परिणत भएको थियो ।
कोणसभामा वीरगञ्ज महानगरपालिकाकी उप–प्रमुख शान्ति कार्कीले संविधानले महिलालाई दिएको अधिकारमा गठबन्धनको कारण खोसिएका भन्दै आक्रोश व्यक्त गरेकी छन् । उनले उप–मेयर मात्र नभई वडाहरूमा पनि महिलाको प्रतिनिधित्व हुनुपर्ने बताइन् ।
डा सुष्मा द्विवेदीले महिलालाई कुनै पनि पदमा उम्मेदवार नबनाउँदा संविधानमा महिलाले पाएको हक अधिकार मिचिएको र चुनावी गठबन्धनमा मेयर र उपमेयर दुवै पदमा पुरूष उम्मेदवारको नाम अगाडि सारिएकोले महिला माथि अन्याय भइरहेको उनले बताइन् । साथै पर्साका पालिकाहरूमा अहिले हरेक दलले महिला वडा सदस्य बाहेक कुनै पनि पदमा महिलालाई उम्मेदवार नबनाउने चलखेल गरिरहेको उनले बताइन् । संविधानमा स्थानीय तहको प्रमुख वा उप्रमुखका उम्मेदवार मध्ये एक जना महिला अनिवार्य हुनु पर्ने प्रावधान छ । चुनावी गठबन्धनको आफुहरू विरोधी नभएको भन्दै उनले तर दलहरूले गठबन्धन गर्दा महिलालाई नभइ पुरूषलाइ मात्रै उम्मेदवारमा अगाडि सारेको महिला नेतृहरूको आरोप छ ।
लोसपाकी नेतृ रम्भा मिश्रले गठबन्धनका नाममा सबै दलहरूले महिलालाई पन्छ्याउने काम भएको आरोप लगाइन् । पुरूषलाई मात्र उम्मेदवार बनाउदा संविधान पनि मिचिने भन्दै उनले तर राज्यले पनि संविधान मिच्नेहरूलाइ अङ्कुश नलगाएको गुनासो गरिन् ।
नेकपा एमालेकी महिला नेतृ गुडडी जोशीले आफूहरूले चुनाव बहिष्कार गर्ने बताइन् । उनले उप–प्रमुख तथा उपाध्यक्ष पदमा अन्य दलको पुरूष उम्मेदवार समेत उठाउन पाउने निर्णयको विरोधमा प्रदर्शन गरेको बताइन् । गठबन्धनका कारण सक्षम महिलाहरू अगाडि बढ्न नसक्ने अवस्थामा पुगेको बताइन् । उनले पर्सामा राजनीति क्षेत्रमा महिलाको सहभागीता शून्य पार्न खोजेको आरोप लगाइन् ।
प्रतिक्रिया लेख्नुहोस्