मधेसखबर
वीरगन्ज,१५साउन : वीरगन्ज सहित देशभरका ६ वटै महानगरपालिकाका मेयरहरूले महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न संघीय संसद्लाई अनुरोध गरेका छन् ।
पोखरामा सम्पन्न मेयर सम्मेलनबाट एक संयुक्त घोषणापत्र जारी गर्दै सम्पूर्ण महानगरका मेयरहरूले स्थानीय सरकार सञ्चालनार्थ निर्माण गरिएका कानुन परिमार्जन तथा नयाँ कानुन निर्माण र महानगरपालिकाका लागि छुट्टै ऐन निर्माण गर्न अनुरोध गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत विभिन्न विषयसँग सम्बन्धित विद्यमान संघीय कानुन परिमार्जन तथा नयाँ कानुन निर्माण गर्न र महानगरपालिकाहरूका छुट्टै ऐन जारी गर्न संघीय संसद्लाई आग्रह गरिएको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए ।
महानगरपालिकाका मेयरहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ,‘संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि संघ र प्रदेश सरकारहरूसँगको समन्वय, सहयोग र सहकार्यलाई अझ घनीभूत गर्दै महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सुदृढ बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान सङ्घीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरूका लागि संघीय संसद्बाट छुट्टै ऐन जारी गर्न समेत अनुरोध गर्दछौं‚’।
यसका साथै महानगरपालिकाहरूका विशिष्ट प्राकृतिक, सांस्कृतिक एवं सामाजिक मौलिक चरित्र एवं समस्या र सम्भावनाहरूलाई सम्मान र सम्बोधन गर्दै महानगरहरूबीच पारस्परिक सम्पर्क–सञ्जाल प्रवर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई महानगर मञ्च नेपालको माध्यमद्वारा संस्थागत गर्ने निर्णय पनि गरिएको मेयर राजेशमान सिंहले बताए ।
The post पोखराको मेयर सम्मेलन : महानगरका लागि छुट्टै ऐन जारी गर्न अनुरोध appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्