मधेसखबर
२९ साउन, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ ईटियाहीका बासिन्दाले आईतबार वीरगञ्जमा प्रदर्शन गरेका छन् ।
ईटियाही गाउँका २३ वर्षीय युवक राज कुमार ठाकुरको हत्यामा संलग्नलाई फाँसी दिनुपर्ने माग गर्दै वीरगञ्जमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
गत साउन २५ गते वीरगञ्ज ट्युसन पढ्न आएका राजकुमार घर फर्किएनन् । परिवारले आफन्त र साथीभाइकोमा खोजतलास गरे ।उनी नभेटिएपछि जिल्ला प्रहरी कार्यालय बारामा साउन २६ खोजीका लागि निवेदन दिएका थिए ।
प्रहरीले खोजतलास गर्ने क्रममा साउन २७ गते भारतको बिहार भागलपुर जिल्लाको भागलपुर रेल्वे स्टेशन नजिकै राजकुमारको शव भेटिएको थियो । भारतीय प्रहरीसँगको समन्वयमा शव वीरगञ्ज ल्याई सकिएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा राखिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको हत्या भएको रहस्य खुलेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ईटीयाहीकै २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेललाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
अभियुक्तहरुको बुवा ६५ वर्षीय कृष्णा राउत कुर्मीलाई पनि पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने, ज्यान मार्ने अभियुक्तहरुलाई फाँसीको सजाय दिनुपर्ने भन्दै मृतकका आफन्त र गाउँलेले जिल्ला प्रहरी कार्यालय पर्सा घेराउको प्रयास गरेका थिए ।
उनीहरुलाई सुरक्षाकर्मीले जिल्ला प्रहरी कार्यालय, पर्सा जाने मुख्य बाटोमै रोकेका थिए । मृतकका बुवा मोतिलाल ठाकुरले किटानी जाहेरी दिनुको साथै प्रहरीले गम्भिर ढंगले अनुसन्धान गर्ने आश्वासन दिएपछि स्थानीय घर फर्केका थिए ।
शव पोष्टमार्टम गराउनुको साथै घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
The post हत्याका आरोपीलाई कारबाहीको माग गर्दै वीरगञ्जमा प्रदर्शन appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्