वीरगंज , भदौ ३ —
बैंकबाट फोन गरेको भन्दै ‘केवाईसी अद्यावधिक’ गर्न लगाएर ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार बैंकबाट बोलेको भन्दै पछिल्लो समय बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने, स्क्रिन सेयर गर्न लगाउने र एकपटक प्रयोग हुने संकेत नम्बर मागेर खाताबाट रकम अन्यत्र स्थानान्तरण गरी ठगी गर्ने गरेको पाइएको छ।
प्राविधिक विश्लेषणका क्रममा पहिचान भएका चार जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी पूर्व रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्सा वीरगंज महानगरपालिका–३ का २९ वर्षीय कुबेर थापा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।
प्रहरीले बैंक वा वित्तीय संस्थाको नाममा फोन आएर खाता अद्यावधिक, गोप्य संकेत नम्बर, पासवर्ड वा स्क्रिन सेयर गर्न आग्रह गरेमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।